भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेस पार्टीकी अध्यक्ष ममता बनर्जीले विष्णुपुरमा आयोजित चुनावी सभामा प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कठोर प्रहार गरेकी छन् ।
उनले भनिन्, ‘मोदी खाली ठूलाठूला कुरा गर्छन् अनि सबैको खातामा १५ लाख हाल्ने भनी झूटो वाचा गर्छन् । तर खाना पकाउने ग्यासको मूल्य आकाश छुँदैछ । म प्रधानमन्त्री पदको सम्मान गर्छु तर उनी झूटा मानिस हुन् भन्नुपर्छ । पूरा देश नै उनी आफ्नो नाममा पार्न खोज्दैछन् ।’
केन्द्र सरकारले सरकारी कम्पनीहरूलाई बेचिरहेको र प्रधानमन्त्री मोदीको झूटको कारखाना मात्र बाँकी रहेको ममताले बताइन् ।
भाजपाले बंगलाका जनतालाई अनेकथरी वाचा गरिरहेको तर उसले असम र त्रिपुरामा गरेको वाचा अहिलेसम्म पूरा नगरेको ममताको आरोप छ ।
पूर्वोत्तरका ती दुई राज्यमा भाजपा सरकराले हजारौं सरकारी कर्मचारीलाई बेरोजगार बनाएको ममताले दाबी गरिन् । केन्द्र सरकारले दूरसञ्चार कम्पनी र बैंक, राष्ट्रिय ध्वजावाहक र रक्षा विनिर्माण जस्ता कोर सेक्टरका अन्य सरकारी कम्पनी पनि बेच्न लागेको र हजारौं कर्मचारीको भविष्य अनिश्चित बनाएको ममताको आरोप छ ।