०२ असार २०८३, मंगलबार

भारतबाट धमाधम घर फर्किंदै नेपाली, क्वारेन्टीनमा नबस्नेलाई कारवाही

चैत १२, २०७७
भारतबाट धमाधम घर फर्किंदै नेपाली, क्वारेन्टीनमा नबस्नेलाई कारवाही
प्रतिकात्मक तस्वीर

बढेका कारण अहिले रोजगारीका लागि भारत गएका जिल्लाका दजनौं नागरिक घर फर्किन थालेका छन् । 

छिमेकी मुलुक भारतका विभिन्न शहरमा कोरोना भाइरसको जोखिम बढेका कारण रोजगारीका लागि त्यहाँ गएका डोटीका नागरिक धमाधम घर फर्किन थालेपछि अनिर्वायरूपमा १४ दिन क्वारेन्टीन बस्न जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईको अध्यक्षतामा बिहीवार बसेको कोभिड–१९ संक्रमण रोकथाम एवं सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्व तयारी गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले भारतबाट रोजगारी गरी घर फर्किएका तर क्वारेन्टीनमा नबस्ने नागरिकलाई कारवाही गरिने निर्णय गरेको छ ।

डोटीबाट सयौं नागरिक रोजगारीका लागि भारतका विभिन्न शहर गएका र अहिले उनीहरू घर फर्किन थालेका कारण जिल्लामा कोरोनाको जोखिम बढ्ने निकै सम्भावना रहेको भन्दै सचेत हुनसमेत जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ ।

कोभिड–१९ बारे फेरि सतर्कता अपनाउन प्रशासनले एक सार्वजनिक सूचना जारी गरी सबैमा अनुरोधसमेत गरेको छ । बैठकले ६ बुँदे निर्णय गरी कार्यान्वयन गर्न/गराउन सबैमा आग्रह गरेको छ ।

भारतबाट घर फर्किने व्यक्तिले आफ्नो परिवारजन तथा समुदायको सुरक्षार्थ आफैं सजग भई तोकिएको न्यूनतम अवधिसम्म क्वारेन्टीन/सेल्फ आइसोलेसनमा बस्ने, स्वास्थ्यसम्बन्धी कुनै समस्या वा संक्रमणको लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी स्वास्थ्य परामर्श तथा सहायता लिने, होली, नव वर्ष लगाएतका पर्व मनाउँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सीमित संख्यामा परिवारका सदस्यबीच मात्रै मनाउने, साथै पर्वमा मानिस जम्मा भई गरिने शुभकामना आदान–प्रदान, घरघरमा खेलिने होलीजस्ता सांस्कृतिक कार्यक्रम, नाचगानजस्ता गतिविधि नगर्न/नगराउन निर्णयमा उल्लेख गरिएको छ ।

ठूलो संख्यामा भेला भई गरिने बैठक, गोष्ठी, सेमिनारजस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्न, पूर्व निर्धारित अत्यावश्यक कार्यक्रम स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्ने, होटल, रेस्टुरेन्ट, डान्सबार लगायतका मानिसको भीड हुने व्यवसाय राति अबेरसम्म सञ्चालन नगर्ने/नगराउने, सम्पूर्ण कार्यालय, निकाय, संघसंस्था, शैक्षिक संस्थाले दैनिक सेवा प्रवाह एवं कार्यसञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्ने, भीडभाड नहुने गरी सेवा प्रवाह गर्ने/गराउने र कोभिड–१९ संक्रमणको बढ्दो जोखिमलाई नियन्त्रण एवं रोकथामका लागि भीडभाडमा नजाने, सामाजिक दुरी कायम राख्ने, मास्कको प्रयोग गर्ने, साबुन पानीले बारम्बार हात सफा गर्ने तथा स्वास्थ्य सुरक्षाका मापदण्डको परिपालना गरी आफू र अरुलाई संक्रमणबाट बचाउन आग्रह गरिएको छ ।

पछिल्लो समयमा छिमेकी मुलुक भारतमा कोभिड–१९ संक्रमण तथा मृत्युदर बढेसँगै डोटीमा पनि संक्रमणको जोखिम बढेको भन्दै सुरक्षा मापदण्ड अपनाउन आग्रहसहित प्रशासनले सार्वजनिक सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए ।

‘कोरोनाबाट जोगिन हामीले सावधानीका लागि आग्रह गरेका छौं, नियमको पालना नगर्नेलाई संक्रामक रोग ऐनअन्तर्गत कारवाही हुनेछ,’ उनले भने । नजिकै आइरहेको होलीलगायत सुदूरपश्चिम प्रदेशको  महत्त्वपूर्ण चाड विशुपर्व मनाउन र कोभिडको बढ्दो संक्रमणका कारण भारतबाट मानिस नेपाल फर्कने क्रम बढेकाले उच्च सतर्कता अपनाउनुपर्ने र सम्भावित जोखिम न्यूनीकरणका लागि सबैले सजग एवं संवेदनशील भई तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइसाथ पालना गर्न सूचनामा भनिएको छ । – विमल विष्ट

salt training

कमेन्ट गर्नुहोस्