
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते केन्द्रीय कमिटीले गरेका निर्णयबाट पछि फर्किन नसकिने बताएका छन् । फागुन २८ तथा चैत ७ गते बसेको केन्द्रीय कमिटी तथा संसदीय दलका विधिसम्मत बसेका बैठकको निर्णय फिर्ता नहुने उनले स्पष्ट गरे ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेता समेत रहेका ओलीले यसअघि भएका निर्णय फिर्ता नहुने स्पष्ट पारेका हुन् ।
बैठकको शुरूमै सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले २०७५ जेठ २ गतेको अवस्थामा फर्काएर पार्टीको विवाद अन्त्य गर्न प्रस्ताव गरेका थिए ।
‘२८ गते गरेका निर्णय, चैत्र ५ र ७ गतेको संसदीय दलको बैठकबाट ब्याक हुन सकिँदैन, विधिसम्मत गरेको निर्णयबाट पछि हट्न मिल्दैन,’ ओलीको भनाइ उद्धृत गर्दै मुख्य सचेतक विशाल भट्टराईले भने, ‘संसदीय दलको विधान अनुमोदन गरिसकेको अवस्थामा फेरि तलमाथि गर्न सकिँदैन, समयक्रममा संशोधन हुनसक्छ, असंशोधनीय होइन ।’
ओलीले पार्टीमा गुटको अस्तित्वका लागि ठाउँ नरहेको भन्दै व्यक्तिगत रूपमा मात्र आलोचना सुन्न तयार रहेको बताए ।
‘हाम्रो पार्टीमा समूहगत वा गुटगत कुरा गर्दैनौं । एउटै पार्टी स्वीकार गर्छौं । हरेक व्यक्तिका गुनासो सुन्न तयार छौं, तर गुटगत वा समूहगत हिसाबले कुनै कुरा नगरिने जानकारी गराउनु भएको छ,’ भट्टराईले भने ।
बैठकमा माधव नेपाल पक्षीय नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टले पार्टीलाई एकताबद्ध बनाउन योगदान होस् भनेर सुझाव दिएका थिए ।
‘पार्टी जेठ २ गतेकै अवस्थामा फर्केको हो, त्यो बेला २४१ केन्द्रीय कमिटी थियो । सरकारलाई सहयोग गरेका माओवादी केन्द्रबाट आएका २३ जनालाई व्यवस्थापन गरेर २६४ बनाएको हो । यो विधिसम्मत निर्णयबाट कुनै हालतमा पछि हट्न सकिँदैन,’ ओलीले भनेका थिए ।