
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला आएको केही दिनमा आफूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेको बताएका छन् । तर प्रचण्डले गलत व्याख्या गरेको ओलीको गुनासो छ ।
शनिवार लोकान्तर डट्कमलाई दिएको विशेष अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले टेलिफोन संवादबारे प्रचण्डले मिडियामा गलत ढंगले कुरा पुर्याएको बताए ।
‘मैले प्रचण्डजीलाई फोन गरेको हुँ, उहाँले केन्द्रीय समिति बैठक सकिएपछि फोन गर्छु र भेटौं भन्नुभएको थियो,’ ओलीले भने, ‘मैले केन्द्रीय समिति बैठक भनेर टार्दिए भनेर प्रचण्डले भन्नुभएछ, मसँग त्यस्तो कुरा भएको थिएन ।’
प्रधानमन्त्री ओलीसँगको विशेष अन्तर्वार्ता आज शनिवार राति ९ बजे लोकान्तर डट्कमको फेसबूक पेज र यूट्युब च्यानलबाट प्रसारण हुनेछ ।