
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमविरुद्ध आन्दोलनमा रहेका दलहरूलाई अबको राजनीतिक निकासका लागि समझदारी र सहमतिका लागि आह्वान गरेका छन् ।
राजधानीमा शनिवार दिउँसो बृहत् नागरिक आन्दोलनको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मेरो कोसिस यो परिवर्तित परिस्थितिमा प्रमुख राजनीतिक दलहरू जे प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा गयौं, ती राजनीतिक दलहरूका बीचमा अबको निकासबारे एउटा न्यूनतम सहमति र समझदारी होस् ।’
उनले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता सँगसँगै होस् भनेर १–२ दिन हेरेको बताए ।
अध्यक्ष प्रचण्डले सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिने पनि स्पष्ट पारे । उनले अगाडि भने, ‘संसद् विघटनविरुद्ध उभिएका दलबाटै समर्थन फिर्ता नलिन भन्दै दबाब छ, राजनीति उल्टो पर्छ कि भनेर । तर नैतिक र राजनीतिक रूपले अब माओवादी केन्द्रले समर्थन फिर्ता लिन धेरै दिन पर्खन सक्दैन । सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिन्छौं ।’
उनले संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरूबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाब रहेको उनले बताए ।
अध्यक्ष प्रचण्डले जनदबाबका कारण ‘अदालतसँगको सेटिङ’ भत्किएको र संसद पुनःस्थापना भएको बताए । नेकपाको एकता भत्काएर एमाले र माओवादी ब्युँताउने अदालतको निर्णय अस्वाभाविक र अप्राकृतिक रहेको उनको भनाई थियो । उनले त्यसको लागि आफूहरू पुनरावलोकमा जाने जानकारी दिए ।
अध्यक्षले माओवादी र प्रचण्डलाई तेजोबध गर्ने षड्यन्त्र भइरहेको बताउँदै यसको विरुद्धमा लड्न आफू तयार रहेको बताए । मधेशी दलसँग सहकार्यको जरुरी रहेको बताउँदै आफू सधैं पहिचानको पक्षमा रहेको स्पष्ट पारे ।