
म्यान्मारमा सेनाले कू गरेयताको सर्वाधिक हिंस्रक दिन शनिवार रह्यो । देशका सुरक्षाबलहरूले पाँच वर्षका एक बालक सहित १०० भन्दा बढी मानिसको हत्या गरेका छन् ।
यांगोन, म्यान्डले तथा अन्य शहरहरूमा दशौं हजार मानिस सडकमा आएर प्रदर्शन गरिरहेका छन् र सुरक्षाकर्मीहरूको दमन बढिरहेको छ ।
म्यान्डलेमा मारिएका १३ जनामध्ये ती पाँच वर्षीय बालक पनि थिए । यांगोनमा कम्तीमा ९१ जना मारिएका थिए ।
म्यान्मारका सुरक्षाकर्मीहरूले प्रदर्शनकारीमाथि टाउकोमा ताकेर गोली हान्ने गरेका छन् । विरोधकर्ताहरूलाई मारेरै सिध्याउने सोच सेनाले पालेको देखिन्छ ।
शनिवार सशस्त्र बल दिवस परेको अवसरमा सुरक्षाबल र जुन्ताले शक्तिप्रदर्शन गरेका हुन् ।
गत फेब्रुअरी १ मा सेनाले निर्वाचित पदाधिकारीहरूलाई बन्दी बनाएर शासन आफ्नै हातमा लिएपछि निरन्तर विरोध प्रदर्शन हुँदै आएका छन् ।