१३ असार २०८३, शनिबार

मागप्रति सकारात्मक छौं, फोहोर विसर्जनमा अवरोध नगर्नुहोस् : काठमाडौं महानगर

मागप्रति सकारात्मक छौं, फोहोर विसर्जनमा अवरोध नगर्नुहोस् : काठमाडौं महानगर

नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय वासिन्दाले काठमाडौं उपत्यकाको फोहोरमैला विसर्जनमा गरेको अवरोधप्रति काठमाडौं महानगरपालिकाले ध्यानाकर्षण भएको बताएको छ ।  

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले एक सूचना निकाल्दै ध्यानाकर्षण भएको जनाएको हो ।

‘काठमाडौं उपत्यकाभित्र दैनिक उत्सर्जन हुने फोहोरमैलाको अन्तिम विसर्जन स्थल नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा–२ स्थित ल्याण्डफिल्ड साइटका प्रभावित वासिन्दाले विभिन्न माग राखी फोहोर व्यवस्थापन कार्यमा २०७७ चैत १३ देखि अवरुद्ध गर्दै आएकोमा काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय वासिन्दाको माग सम्बन्धमा काठमाडौं महानगरपालिकाले नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी छलफल अघि बढाइसकेकाले माग पूरा हुने सम्वन्धमा काठमाडौं महानगरपालिका सकारात्मक अपेक्षा गर्छ ।’

विज्ञप्तिमा ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय वासिन्दालाई फोहोरमैला विसर्जन कार्यमा सहयोग गर्न पनि अपिल गरिएको छ । ‘फोहोरमैला विसर्जन कार्यमा सहयोग गरिदिनुहुन फोहोरमैला प्रभावित स्थानीयवासीसँग काठमाडौं महानगरपालिका हार्दिक अनुरोध गर्दछ,’ ‘विज्ञप्तिमै भनिएको छ, ‘साथै उपत्यकावासीले आ–आफ्नो घर–पसल–कलकारखाना–व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याइसकेसम्म कुहिने फोहोरलाई आफैं व्यवस्थापन गर्नुहुन र नकुहिने फोहोरलाई सडकमा जथाभावी नफाल्नुहुन अनुरोध छ । काठमाडौं महानगरपालिकाले फोहोर लिन आउने गाडीमा फोहोर पठाई फाहोर व्यवस्थापन कार्यमा सहयोग गरी कोभिड–१९ जोखिम न्युनीकरण कार्यमा सहयोग गर्न पनि आग्रह गरेको छ । फोहोर मैला प्रभावित क्षेत्रका स्थानीय वासिन्दाले चैत १३ गतेयता सडकमा विरोध प्रदर्शन गर्दै फोहोर बिसर्जनमा अवरोध गर्दै आएका छन् । 

‘हामी सिसडोलबासीका मागप्रति सकारात्मक छौं । हाम्रो तर्फबाट उहाँहरूका माग सम्बोधनका लागि सम्बन्धित निकायसँग निरन्तर छलफल जारी राखेका छौं । शिक्षा मन्त्रालय पनि उहाँहरूका माग जतिसक्दो छिटो सम्बोधन गर्न प्रयासरत छ,’ काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरि श्रेष्ठले भने, ‘सिसडोलबासीलाई वार्ताका माध्ययमबाट समस्या समाधान गर्न आग्रह गरिरहेका छौं । उहाँहरूले निरन्तर अवरोध गर्ने हो भने हामीले फोहोर विसर्जन कार्यका लागि थप कदम चाल्नुपर्ने हुनसक्छ ।’

salt training

कमेन्ट गर्नुहोस्