
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि रुख काट्न शुरु गरिएको छ ।
मध्यवर्ती क्षेत्रमा पर्ने सडकका दुवै किनाराका रुख काट्न शुरु गरिएको हो । जिल्ला वनअन्तर्गत पर्ने स्थानका रुखहरु काट्ने काम सकिएको भए पनि कानूनी अड्चनका कारण मध्यवर्ती क्षेत्रमा पर्ने रुख काट्ने काम हुन सकेको थिएन । मन्त्रिपरिषद्बाट निर्णय भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले रुख काट्नका लागि अनुमति दिएलगत्तै सडक विस्तारका लागि आवश्यक पर्ने रुख काट्न शुरु गरिएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको खण्ड ‘क’का सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए।
सो सडकखण्डको कावासोतीबाट गैँडाकोटको थुम्सीसम्मको सडकको दक्षिणतर्फ रहेका वन मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले रुख काट्ने काम प्रभावित हुँदै आएको थियो । अनुमति पाएपछि अहिले केहीदिन अगाडिदेखि थुम्सी तथा कावासोतीको जङ्गलमा रुख काट्ने काम भइरहेको उनले जानकारी दिए ।
जङ्गलबाहेक अन्य क्षेत्रमासमेत सडकबाट ५० मिटर दक्षिणतर्फका रुखहरु मध्यवर्तीमा पर्ने भएकाले सबै रुख काट्ने काम हुन सकेको थिएन । सूचना अधिकारी आचार्यले मध्यवर्ती क्षेत्रमा पर्ने करिब चार हजार रुख काट्ने काम भइरहेको जानकारी दिए । ३० सेन्टिमिटर गोलाइ वा सोभन्दा बढी गोलाइ भएका रुखहरुको छपान (नम्बर लगाउने काम) भएर काट्ने काम भइरहेको उनको भनाइ छ ।