नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा पुनःस्थापना भएपनि प्रतिगमनको षड्यन्त्र अन्त्य भइनसकेको बताएका छन् । निरंकुशतामा जाने षड्यन्त्र भए फेरि आन्दोलन गर्नुपर्ने उनले बताए ।
वामपन्थी चिन्तक प्रा. माणिकलाल श्रेष्ठको श्रद्धाञ्जलि कार्यक्रमलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसद् पुनःस्थापना भएपनि षड्यन्त्रको अन्त्य नभएको बताएका हुन् ।
‘संसद् त पुनःस्थापना भयो, त्यो प्रतिगमनकारी षड्यन्त्रको अन्त्य भएको छैन । तपाईंहरूले सुन्नुभएको होला अहिले अलि बढी सुन्ने गरेका छौं, सेटिङ । संवैधानिक निकायमा प्रमुखहरू ऐन नियमले काम नगर्ने, सेटिङ हुने गरेको छ,’ प्रचण्डले भने ।
फरक प्रसंगमा प्रचण्डले केपी ओलीसँग विवादका कारण नेकपा विभाजनको स्थिति आएको बताए ।
‘तपाईंहरूले हेर्दा कम्युनिस्ट पार्टी फुट्यो, प्रचण्ड र केपी झगडा गरे भन्ने मात्र देखिन्छ होला, त्यो भित्र अन्तरनिहीत वैचारिक विवाद हेर्नु भयो भने एउटाले सामन्तवाद र निरंकुश फाँसीवाद र अर्कोले जनताको अधिकार र पहिचानको बाटो लिएका थियौं । एकअर्काले लिएको बाटोमा कहीँकतै मेल नै देखिएन, भेटै भएन र यस्तो स्थिति बन्यो,’ प्रचण्डले भने ।