
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका १६५ वटा सडकको एकैपटक शनिबार शिलान्यास गरेका सडकमा रुपन्देहीका ५ वटा सडक परेका छन् ।
यो सँगै जिल्लामा थप ५० किलोमिटर सडक कालोपत्रे हुने भएको छ ।
क्षेत्र नम्बर १ अन्तर्गत रोहिणी गाउँपालिका–७ पजरकट्टी एपीएफ बेस क्याम्पबाट मनोहरा हुँदै रामनरेशचोक–धकधई चोक–ओमसतिया गाउँपालिका–६ मझौली चोक हुँदै देवदह नगरपालिका ११ र १२ स्थित शंकरपुर चोकसम्मको सडक बन्नेछ । त्यस्तै क्षेत्र नम्बर २ बुटवल उपमहानगरपालिको गोलपार्क–बुटवल मावि–जितगढी–बँदेल पोखरी हुँदै तामनगरसम्म सडक बन्नेछ ।
त्यस्तै क्षेत्र नम्बर ३ शुद्धोधन गाउँपालिकाको मानपकडीबाट केवलपुर–ज्योतिसचोक–खजुरिया–बनगाई–महुवारी खडवाटोल–परौता भाठा–लुम्बिनी सडक–किशुली हुँदै सैनामैना सीमाना सडक बन्नेछ ।
क्षेत्र नम्बर–४ अन्तर्गत मर्चवार क्षेत्रको झुलनीपुरदेखि सिपौवा हुँदै केवटलिया–अर्दौली–अजमा–कालिदह सम्मको सडक चार लेनमा स्तरोन्नती सडक बन्नेछ । क्षेत्र नं ५ सैनामैना नगरपालिकाको सालझण्डी–जरलेवा–वनकसिया–डिपो झण्डा–प्रगतिचोक–छपाली टोल–रुद्रपुर उच्च मावि–गैडहवा गाउँपालिकाको शान्तिपुर– मंगलपुर–कोटवा–गोवरौली–लुम्बिनी सांस्कृतिक नगरपालिकाको भैसैया–लुम्बिनी हुँदै भारतको सीमाना बन्नेछ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले वृहत बुटवल र छिमेकका पालिकाहरुलाई जोडने गरी बुटवलले बनाएको पर्यटन सर्किटलाई थप व्यवस्थित बनाउन हालको सडक पूर्वाधारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । सुवेदीले जीतगढी सम्पदा र मणिमुकुन्द सेन उद्यानलाई सडकले जोड्ने बताए ।