
दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि नुवाकोटे टाईगरले जितेका छन् । उनले आफ्ना प्रतिद्धन्द्धी डेविडलाई लक लगाउँदै उपाधिको रक्षा गरेका हुन् ।
पोखरा रंगशालाको बहुउद्देश्य कभर्डहलमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा डेविडले टाईगरमाथि धेरै पटक शसक्त प्रहार गरेका थिए । डेभिडले टाईगरलाई अचेतको अवस्थामा पछारेर खेललाई लगभग आफ्नो पक्षमा पारिसकेका थिए । अझ उत्कृष्ट फिनिसिङ दिने चक्करमा रिङमाथि चढेर हाईजम्ब मार्फत टाईगरमाथि जाईलाग्न खोज्दा डेविड लक्ष्यमा पुग्न नसकेपछि घुडा सिधै रिङमा बज्रिदा घाईते भए । उनी उठ्नै नसक्ने गरि बजारिएको मौकालाई सदुपयोग गर्दै टाईगरले डेविड माथि आफ्नो लक लगाए पछि रेफ्रीको तीन काउन्टसँगै च्याम्पियनको उपाधि जितेका थिए ।
उपाधिका साथ टाईगरले नगद एक लाख च्याम्पियन बेल्ट पनि प्राप्त गरे । प्रतियोगितामा उप विजेता बनेका डेभिडले नगद ५० हजार रुपैया पाए । प्रतियोगितामा चट्टानले तेस्रो स्थानमा चित्त बुझाए ।
शुक्रवार रद्द भएको ठगु र द युगबीच च्यालेन्ज खेल पुनः भएको थियो । हिजोको भएको खेलमा ठगुका साथीले आएर रेफ्रिलाई पछारेपछि खेल रद्द भएको थियो । त्यसपछि द युगले ठगुलाई आजका लागि रिङबाटै च्यालेन्ज गरेका थिए । ठगु र द युगबीच प्रतिस्पर्धा एकदमै डरलाग्दो भएको थियो । दुर्बले एकअर्का माथि रिङ भित्र र बाहिर रहेका वस्तुहरु प्रहार गरेका थिए । उनीहरुबीच भएको खेलमा टेबल, कुर्सी, फलामको चेन, सिढी लगायत त्यहा वरपर रहेका वस्तुहरु एक अर्का माथि प्रहार भएको थियो । निकै घमासान भएको खेलमा रगतको खोला नै बगेको थियो । तर अन्त्यमा आएर द युगले ठगुलाई उठनै नगरी पछारेपछि जित हातपार्न सफल भए । यो सँगै द युगले आईरन म्यानको उपाधि पाए ।
नेपाल रिङ रेस्लिङ संघको आयोजनामा खेल भएको हो।