
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको आदेशले दोषी ठहर गरी फरार भएका एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले सोमवार अदालतमा पेश गरेको छ ।
पक्राउ पर्नेमा खोटाङ घर भई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने वरुण ढकाल रहेका छन् । अदालतले उनलाई ५ दिन कैद र बिगोबमोजिम ६१ लाख ५५ हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।
फैसलापछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरी सोमवार फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको ब्यूरोका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्यानमा पारी ६१ लाख रुपैयाँ बढीको चेक काटी दिएका थिए ।
यसैबीच वन्यजन्तुको आखेटोपहार अवैधरूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा खटिएको ब्यूरोको टोलीले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–६ झुलपाखाबाट संरक्षित वन्यजन्तुको छाला (आखेटोपहार) सहित ३ जनालाई पक्राउ गरेको छ ।
अवैधरूपमा वन्यजन्तुको अंग ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा बाराको सिमरा बस्ने फुलमाया तामाङ, गुल्मीका शिव पल्ली र रामेछाप दोरम्बाका पासाङ टसी तामाङलाई पक्राउ गरिएको पन्तले जानकारी दिए । उनीहरूलाई आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडाँंमा पठाइएको ब्यूरोले सोमवार एक विज्ञप्ति जारी गरी जनाएको छ ।