२८ जेठ २०८३, बिहीबार

कांग्रेस सांसदले सरकारलाई म्यानमारको 'सैनिक कू'सँग तुलना गरेपछि ...

कांग्रेस सांसदले सरकारलाई म्यानमारको 'सैनिक कू'सँग तुलना गरेपछि ...

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी एक सांसदले वर्तमान सरकारलाई म्यानमारमा कूपछि बनेको सैनिक सरकारसँग तुलना गरेपछि सरकारका प्रभावशाली मन्त्रीले सांसद पदको गरिमा ख्याल गर्न सुझाव दिएका छन् । 

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा परराष्ट्रमन्त्रीले सार्वजनिक महत्त्वको विषयमा मन्तव्य दिने कार्यक्रम थियो । 

मन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपतिबाट हालै भएको बंगलादेश भ्रमणलगायत संसद्मा उठेका केही विषयमा धारणा राखेका थिए । 

त्यसपछि सभामुख अग्नि सापकोटाले मन्त्रीलाई रोष्टममै उभ्याएर सांसदहरूलाई प्रश्न गर्न समय दिए ।

प्रश्नका क्रममा नेपाली कांग्रेसकी सांसद डा. डीला संग्रौलाले सरकारलाई म्यानमारको सैनिक कूसँग तुलना गरेकी थिइन् ।

‘म्यानमारमा भएको सैनिक कू, आङसाङ सुकी लगायत थुप्रै लोकतन्त्रप्रेमीलाई थुनामा राख्ने, दिनहुँ नरसंहार र बालबालिकामाथिको हत्या, यो सरकारको ध्यान किन पुगेन, विमस्टेकको बैठकमा म्यानमारको कुरा किन उठेन ? म्यानमारको सैनिक कू र (नेपाल) सरकारको चरित्र उस्तै हो ?’ 

जवाफका क्रममा मन्त्री ज्ञवालीले सरकारलाई म्यानमारको सैनिक कूसँग तुलना गरेको भन्दै गम्भीर विमति जनाए ।

उनले हल्का प्रश्न गरेर सांसदको गरिमा नघटाउन आग्रह गरे ।  

‘म एउटा प्रश्नप्रति विनम्रतापूर्वक अस्वीकृति जनाउन चाहन्छु, त्यस्ता प्रश्न नउठुन् भन्ने चाहन्छु । माननीय सदस्य बोल्दै जाँदा धेरै पर नपुगौं । म्यानमारको सैनिक कू र नेपालको सरकार कुनै तुलना हुने विषय हो ? त्यस्ता प्रश्नले हाम्रो गरिमा घट्छ । आफ्नो गरिमा घट्ने काम नगरौं,’ मन्त्री ज्ञवालीले भने ।

मन्त्री ज्ञवालीले म्यानमारमा भएको घटनाप्रति सरकार गम्भीर रहेको र उपयुक्त फोरममा कुरा उठाउने बताए । 

salt training

कमेन्ट गर्नुहोस्