२४ असार २०८३, बुधबार

नक्कली टिकट बेच्ने एनआरएनए नेताको कार्यालयमा पोर्चुगल प्रहरीको  छापा, कुँवर पदबाट निलम्बित

चैत २४, २०७७
नक्कली टिकट बेच्ने एनआरएनए नेताको कार्यालयमा पोर्चुगल प्रहरीको  छापा, कुँवर पदबाट निलम्बित

पोर्चुगलमा ट्राभल्स र रेमिट्यान्सको व्यवसाय चलाउँदै आएका  एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रम जंग कुँवरको कार्यलयमा प्रहरीले छापा हानेको छ । उनले नेपाल फर्किन लागेका नेपालीलाई नक्कली टिकट बेचेको खुलासा भएपछि पोर्चुगल प्रहरीले छापा हानेको हो । उनको  लक्ष्मी ट्राभल्सको कार्यालयमा प्रहरीले स्थानीय समय अनुसार सोमबार रातको करिब ११ बजे छापा मारेको थियो। 

स्रोतका अनुसार सो क्रममा प्रहरीले कैयौँ फर्जी कागजातहरु बरामद गरेर लगेको छ। 


प्रहरीले छापा मारे पश्चात सो ट्राभल्सबाट  विभिन्न समयमा विभिन्न शीर्षकमा ठगिएको भन्दै दर्जनौँ नेपालीहरुको ट्राभल्स  अगाडि भीड नै  लागेको थियो। उनीहरुले ट्राभल्स संचालकको चर्को विरोध गरेका थिए भने आफूहरुलाई सहयोग गर्न प्रहरी समक्ष याचना गरिरहेका देखिन्थे। 

पहिलो पटक लोकान्तर डटकममा ठगी काण्डबारे समाचार  प्रकाशित भएपछि पोर्चुगल र युरोपमा  सनसनी मच्चिएको थियो।  पोर्चुगलको नेपाली समुदायमा लोकप्रिय फेसबुक पेज  नेपाल चौतारीले राति नै पीडितहरूको गुनासो सहितको भिडियो सार्वजनिक गरेको छ। भिडियोमा पीडीतहरुले  आफूहरु ठगिएको  र न्याय पाउनु पर्ने बताएका छन्। 


त्यहाँ उपस्थित अधिकांशको आगामी मितिको लागि नेपाल जाने भनेर बुक भइसकेको भनिएको टिकट जाँच गर्दा टिकट  नक्कली नै भेटिएको छ। पैसा असुल्ने र बुकिङ नभएको टिकट भिडाउने धन्दा धेरै भएको आशंका गरिएको छ। 

नेपाल जानको लागि किनमेल सकेर बसेका एक यात्रुले  आफ्नो टिकट शंका लागेर जाँच हेर्दा नक्कली नै भेटिएको बताए। नाम नखुलाउन नचाहने उनले भने, “खेतीमा दुख गरेर कमाएको पसिनाको थोपा बराबरको मेरो पैसा खाएर उसलाई के हुने होला? के पाउने होला? किन यस्तो गरेको होला?”

टिकट अनुसार उनी  यही अप्रिल ८ तारिखका दिन  उड्नु पर्ने छ। तर टिकटको पैसा लिएर पनि बिना  कुनै जानकारी  टिकट क्यान्सिल भएको एयरलाइन्स मार्फत जानकारी पाउँदा उनी मर्माहत बनेका छन्। 

यसैबीच एनआरएन पोर्चुगलले ठगी प्रकरण बाहिरिए लगत्तै राति  नै एक विज्ञप्ति जारी गर्दै आफ्नो  कोषाध्यक्ष बिक्रम कुँवरलाई पदबाट निलम्बन गरेको बताएको  छ। एनआरएन पोर्चुगलका अध्यक्ष तिलक गैरे र महासचिव हेमराज सुवेदीले संयुक्त रुपमा जारी गरेको उक्त विज्ञप्तिमा समाचारमा आएको विषय प्रति आफूहरुको ध्यानाकर्षण भएको  जनाएका छन्। 

पछिल्लो पटक विमानस्थलबाट फर्काएको यात्रुहरुलाई सो ट्राभल मार्फत नक्कली टिकट दिईएको समाचार लोकान्तर डटकममा प्रकाशित भएको थियो। ती यात्रुहरु अन्य कुनै उडान मार्फत नेपाल फर्किने तयारी गरिरहेका छन्। 

पोर्चुगलमा रहेका केही अगुवा नेपालीहरु तथा स्थायी रुपमा बसोबास गरिरहेका श्रमिकहरुले ठगी प्रकरणको विरोध गरिरहेका छन्। उनीहरुले एनआरएन पोर्चुगलको प्रतिष्ठामाथि पनि प्रश्न उठाएका छन्।

 पोर्चुगलमा पत्रकारिता गरिरहेका मनोज भट्टराईले ट्राभल्स संचालक कुँवर प्रति लक्षित गर्दै “पत्रकारहरू आजको मिति  सम्म  किन चुप बसेका थिए” भनेर असन्तोष व्यक्त गरेका छन्। 

त्यस्तै  तनहुँ समाजकी अध्यक्ष बिनु बस्नेतले यस ठगी प्रकरणको निन्दा गरेकी छिन् ।

निलम्बित कोषाध्यक्ष कुँवरले लक्ष्मी ट्राभल्सका मार्फत  लामो समयदेखि आफ्नो सामाजिक पदको दुरुपयोग गर्दै ठगी गर्दै आएको आरोप लागेको छ । 
एनआरएनए पोर्चुगलले नेपालमा कोरोना बिरामीको उपचारमा पठाएको रकम हिनामिना गरेको आरोप पनि उनीमाथि लागेको थियो।

उसो त पोर्चुगलको नेपाली समुदायमा ठगीको धन्दा बढ्दै गएको जानकारहरु बताउँछन्। कोरोना पश्चातको लकडाउनमा त झन् यो संख्या बढेर गएको छ। काम खोजिदिने बाहानामा समेत ठग्नेहरू धेरै छन्। 

पोर्चुगलमा अनुमानित  ३० हजार नेपाली बसोवास गरिरहेको अनुमान छ । तर यहाँ नेपाली दुतावास भने छैन। रातो पासपोर्ट  र विभिन्न सामाजिक सुरक्षा र सहज जीवनयापन गर्न पाइने भन्दै दिनप्रतिदिन यो सङ्ख्या बढ्दो छ । विशेषगरी कृषि र रेष्टुरेन्टमा काम पाइने हुनाले नेपालीको आकर्षण धेरै छ।  

गैर आवासीय नेपाली संघ पोर्चुगलले, पोर्चुगलमा नेपाली दुतावास स्थापना लगायतका माग राखेर विगतमा पूर्वप्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको थियो। प्रचण्ड र ओली सरकारका पालमा पनि दुतावास ल्याउने प्रयास नभएको हैन, तर सफल हुन सकिरहेको छैन। आफ्नो दुतावास नहुँदा पीडामा परेका नेपालीहरुको दु:ख सुनिदिने कोही छैनन्।  भएको यही एउटा एनआरएनए पनि यसरी विवादित हुदा यहाँका नेपाली समुदायहरू चिन्तित बनेका छन्। 

नक्कली टिकट धन्दा चलाउने बिक्रम जंग कुँवर 

salt training

कमेन्ट गर्नुहोस्