आफ्नो वृद्ध काँधमा एक वर्षका नातिलाई राखेका फग्गुरामले छोरो कफिनमा घर आएको दृश्य आँखाभरि आँसु पारेर हेरे । कफिनलाई चारजना सैनिकले बोकेका थिए ।
चार दिनअघि बस्तरको तेकुलगुदा क्षेत्रमा माओवादीहरूको एम्बुशमा परी स्पेसल टास्क फोर्सका सुखराम सिंहको मृत्यु भएको थियो ।
सुखराम शहीद भएको स्थानबाट ५५० किलोमिटर टाढा रहेको गरियाबन्द जिल्लाको मोहदा गाउँमा सयौंजना अन्त्येष्टिका लागि भेला भएका थिए । सुखरामको कफिन गाउँमा ल्याउँदा रोदनले आकाश गुञ्जिएको थियो ।
पीडाका कारण छाती तलमाथि भइरहेका पिताले नातिलाई हातमा लिएर छोराको अन्त्येष्टि गरे ।
सुखरामको विवाह भएको डेढ वर्ष पनि भएको थिएन । उनी बीजापुरबाट पत्नीलाई फोन गरेर सानो छोरोलाई हातमा लिन पाए हुन्थ्यो भन्ने गर्थे ।
फग्गुरामले भने, ‘उसकी पत्नीलाई मैले कसरी अन्त्येष्टिको कुरा सुनाउने होला ? यो खबर सुनेदेखि उनी घरिघरि बेहोश भइरहेकी छन् ।’
कुर्सीमा बसेर उनी क्षितिजतिर टोलाउँदै भन्छन्, ‘छोरोप्रति मलाई गर्व छ । उसको बलिदानलाई म सलाम गर्छु ।’ अनि उनी रुन थाल्छन् ।
माओवादी प्रभावित कांकेणको पान्द्रिपानी गाउँमा डीआरजी पर्सनेल रमेश कुमार जुर्रीको नाम लेखिएको कफिन भुइँमा राखिएको छ । उनका चार वर्षीय छोरा सोध्छन्, ‘भित्र के छ ?’
उनलाई घरपछाडि दाहसंस्कार गरिएको छ । त्यहाँ उनकी पत्नी र आमा रुँदारुँदा बेहोश भएर ढलेका छन् ।
उनकी आमा जुर्रीको सरुवाका लागि भन्दै जगदलपुर गएकी थिइन् तर प्रयास सफल भएन । छोरोको मृत्युको खबर उनले टीभीबाट पाएको एक नातेदारले बताए ।
कोन्दागाँवको बन्जुग्नी गाउँका रामदास कोर्रम पनि माओवादी आक्रमणमा शहीद भएका थिए । उनकी पत्नी देवीदेवताका तस्वीरअगाडि बसेर दियो बाल्छिन् र पुकार्छिन्, ‘मृत्युको खबर झूटो बनाइदेऊ ।’