
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले मन खुलाएर बजेट निर्माण गर्न सकिने अवस्था नरहेको बताएका छन् ।
सत्तारुढ नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले यसपटक मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका हुन् ।
कोभिड- १९ का कारण सिर्जित समस्या र बजेटको स्रोतको सीमितताका कारण बजेट निर्माण गर्दा खुम्चिनुपर्ने अवस्था रहेको अर्थमन्त्री पौडेलले बताए ।
उनले बजेटमा समावेश गर्नुपर्ने विषयमा अनेरास्ववियुले दिएको सुझाव अत्यन्तै महत्त्वपूर्ण भएपनि बजेटको स्रोत हेरेर निर्माण गर्नुपर्दा समस्या रहेको जानकारी गराए ।
कोभिडका कारण खुम्चिएको राजश्व, अन्तर्राष्ट्रिय सहयोग परिचालन र आन्तरिक ऋणको परिधिभित्रै रहेर बजेटको स्रोत निर्माण गरिने उनको भनाइ थियो ।
'यसपटक मन खुलाएर, हात फैलाएर बजेट निर्माण गर्ने अवस्था छैन । खुम्चिएर निर्माण गर्नुपर्ने परिस्थिति छ,' अर्थमन्त्री पौडेलले भने ।
सो अवसरमा अनेरास्ववियुका अध्यक्ष ऐन महर सहितका विद्यार्थी नेताहरूले आगामी बजेटमा शिक्षा क्षेत्रका लागि कम्तिमा २० प्रतिशत रकम छुट्याउन माग गरे ।
शैक्षिक प्रमाणपत्रका आधारमा शैक्षिक र व्यावसायिक ऋण उपलब्ध गराउने विगतको घोषणालाई सहज र प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान र बैंकका प्रत्येक शाखाले न्यूनतम २० जना विद्यार्थीलाई प्रमाणपत्र धितोमा राखेर ऋण उपलब्ध गराउने व्यवस्था गर्न माग गरेका छन् ।
सरकारी सेवा सुविधा र जागिरमा रहनेका छोराछोरीलाई अनिवार्य सामुदायिक सरकारी विद्यालयमा भर्ना गर्ने प्रबन्ध मिलाउन पनि अनेरास्ववियुले माग गरेको छ ।