२४ जेठ २०८३, आइतबार
दुई सरकारबीच तालमेलको अभाव

सिद्धबाबा ‘सुरुङमार्ग’ प्रभावित हुनसक्ने चिन्ता– प्रदेश सरकारले अगाडि सार्‍यो पहाड काट्ने प्रस्ताव

चैत २६, २०७७
सिद्धबाबा ‘सुरुङमार्ग’ प्रभावित हुनसक्ने चिन्ता– प्रदेश सरकारले अगाडि सार्‍यो पहाड काट्ने प्रस्ताव

बुटवल–पाल्पा सडक खण्डअन्तर्गत पर्ने सिद्धबाबा क्षेत्रमा सुरूङमार्ग बनाउन भनेर संघीय सरकारले टेन्डर प्रक्रियामा जाने तयारी गरेपनि प्रदेश सरकारले त्यसैलाई प्रभावित पार्ने खालको अवधारणा अघि सारेको छ ।

प्रदेश सरकारले सिद्धबाबाको पहाड काटेर निर्माण सामग्रीका रूपमा प्रयोग गर्ने प्रस्ताव अगाडि सारेको छ । सिद्धबाबा सडक खण्डमा जोखिम कम गर्न पहाड काट्ने प्रस्ताव संघीय सरकारसमक्ष पेश गरिएको छ ।

जोखिमपूर्ण सडक क्षेत्रको दीर्घकालीन समस्या समाधानका लागि अगाडि सारिएको सुरूङमार्गको ‘ड्रिम प्रोजेक्ट’ प्रदेशको अर्कै प्रस्तावले अन्यौलतर्फ धकेल्ने त होइन भन्ने चिन्ता यस क्षेत्रका जनतामा थपिएको छ । 

सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने यो ३ किलोमिटर क्षेत्र ‘एम्बुस’ जस्तै छ । हिउँद होस् या वर्षायाम जुनसुकै बेला झर्ने पहिरोमा परेर बर्सेनि यात्रुहरूले अकालमा ज्यान गुमाउने गरेका छन् । सामान्य वर्षा हुँदा समेत पहिरो झरेर सडक अवरूद्ध हुने गर्छ । 

संघीय सरकारको अर्थ मन्त्रालयले सह–लगानीबाट सञ्चालन गर्न सकिने आयोजना पेश गर्न प्रदेश र स्थानीय तहहरूलाई आग्रह गरेको थियो, जसअनुसार लुम्बिनी प्रदेश सरकारले सिद्धबाबा क्षेत्रको पहाड खार्ने प्रस्ताव पेश गरेको हो । यस योजनालाई ‘सिद्धबाबा कृत्रिम पठार परियोजना’ नाम दिइएको छ ।  

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले सिद्धबाबा खण्डमा दुर्घटनाको जोखिम कम गर्न पहाड काट्ने योजना प्रदेश सरकारले योजना ल्याएको बताए । 

‘हामीले तल्लो सिद्धबाबादेखि माथिल्लो सिद्धबाबा मन्दिरसम्मको भागलाई काट्ने योजना बनाएका छौं,’ उपाध्यक्ष गौतमले भने, ‘२१४ हेक्टर पहाडलाई स्टेप बाइ स्टेप (गरा गरा बनाएर) काट्ने हो । यो पहाड काट्दा ८२ अर्ब खर्च हुने अनुमान छ । पहाड काटेर १ खर्बको भौतिक पूर्वाधार निर्माण गर्ने सामग्री (ढुंगा, गिट्टी र माटो, बालुवा) बिक्री गर्न सकिन्छ ।’ 

उनले आफूहरूको योजनाले सुरुङ मार्गलाई प्रभाव नपार्ने बताए ।

‘सुरूङमार्ग बनाउने र हाम्रो योजना फरक–फरक हुन् । हाम्रो योजनाले सुरूङमार्गलाई केही अप्ठ्यायारो पार्दैन । हाम्रो योजना पनि एकल लगानीमा सम्भव छैन । संघीय सरकारले स्रोत सुनिश्चितता गरेपछि मात्र अघि बढ्ने हो ।’

प्रदेश योजना आयोगले ५ जना इञ्जिनीयर हायर गरी ल्याएर तीन महिनामा यो योजना तयार गरी संघीय सरकार समक्ष पेश गरेको हो । पहाड काटेर निस्केको जग्गामा आइटी पार्क, हिलसाइड स्टेशन होटललगायत पूर्वाधार पनि बन्न सक्ने उनले उल्लेख गरे ।

१० वर्षमा यो योजना बनाउन सकिने प्रस्तावमा उल्लेख छ ।

पहाडका चट्टानहरू खस्दा १० वर्षमा ७० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । दर्जनौं सवारीसाधनमा नोक्सान पुगेको छ ।

स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेसन (एसडीसी) ले यसअघि नै सुरुङमार्ग आयोजनाको पूर्वसम्भाव्यता अध्ययन (प्रि–फिजिबिलिटी) गरिसकेको छ । चालू आर्थिक वर्षमा सुरुङमार्गका लागि १० अर्ब रुपैयाँ अर्थमन्त्रालयले छुट्याएको थियो । तर ठेक्का प्रक्रिया अझै अगाडि बढ्न सकेको छैन । ठेक्का प्रक्रियाका लागि सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले कागजात तयार पारेको थियो । 

कागजातसहितको फाइल अहिले सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) मा अड्किएको छ । खरिद कार्यालयले स्वीकृत दिएमा प्रक्रिया अघि बढ्ने केन्द्रका प्रमुख डा. विजय जैसीले बताए ।

‘ठेक्का गर्ने डकुमेन्ट पीपीएमओले मन्त्रिपरिषद्मा पठाएको छ । मन्त्रिपरिषद्ले आफैंले जारी गर भनेर पीपीएमओलाई चिट्ठी पठाएको छ,’ उनले भने ‘अब पीपीएमओले डकुमेन्ट जारी गर्नेबित्तिकै त्यसको दुई हप्तामा ठेक्काको सूचना निस्किन्छ, हामी आन्तरिक तयारी गरेर बसेका छौं ।’

ठेक्का प्रक्रिया शुरु भएको ४ वर्षमा ११ सय मिटरको सुरुङमार्ग बन्ने डा. जैसीले बताए । सुरुङमार्गसँगै हाल सडक रहेको ठाउँमा रकसेट बन्ने गरी डिजाइन तयार भएको उनको भनाइ छ ।

‘पहाडभित्रबाट सुरुङ र त्यसको बाहिर रकसेट छ । पैदलयात्रु तथा अन्य सवारीका लागि पहिरोबाट बचाउने गरी रकसेट बन्ने छ,’ डा. जैसीले भने ।

चालु आर्थिक वर्षमा सुरुङमार्गका लागि १० अर्ब रुपैयाँ अर्थ मन्त्रालयले छुट्ट्याएको थियो । 

अर्थमन्त्री विष्णु पौडेल सिद्धबाबामा सुरूङमार्ग बनाउने पक्षमा शुरूदेखि नै लागेका छन् । त्यसमा पाल्पाका सांसद तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेको पनि साथ छ । 

ठूलो मानवीय क्षति हुने सिद्धबाबा सडक खण्डका विषयमा समय–समयमा फरक– फरक योजना बन्ने गरेका छन् । कहिले ‘रकनेट’ परीक्षण गरिए पनि त्यो सफल देखिएन । त्यस्तै यही सडकको वैकल्पिक मार्गको रूपमा चङ्गे–मुढाबास हुँदै झम्सासम्मको २५ किलोमिटर वैकल्पिक मार्गको ट्रयाक खोलेर ग्राभेल गर्ने काम अगाडि बढिरहेको छ । 

सिद्धबाबा मन्दिरमा माथि पहाड छ । तल तिनाउ नदी छ । बीचमा साँधुरो बाटो छ । सवारी साधनको चाप उस्तै, त्यसैमा पनि खाल्डाखुल्डी छन् । भूकम्पको धक्कापछि चर्किएका पहाडका चट्टानहरू प्रस्ट देखिन्छन् । यात्रुहरूले गाडीको झ्यालबाट हेर्दा चट्टानहरू मथिबाट झरेर टाउकोमै बज्रेला जस्तै लाग्छ । 

वातावरण क्षेत्रका जानकार युवराज कंडेल सिद्धबाबामा सुरूङमार्ग र पहाड काट्ने दुवै योजना महंगो रहेको बताए । ‘दुवै योजना उपयुक्त होइनन्,’ कंडेलले भने, ‘दुवै योजनाले यहाँका पानीको स्रोत गुम्नेछन् । त्यहाँ भएका केही झरनाहरू पनि सुक्न थाले, अब पहाड काटेपछि पानीको स्रोत हराउँछ ।’

यद्यपि सर्वसाधारणको चासो भने तत्काल सुरुङ मार्ग बनोस् भन्नेमा छ ।

पाल्पा दोभानका स्थानीय दलबहादुर गुरूङले छिटो सिद्धबाबा सडकलाई व्यवस्थित गर्ने काम अगाडि बढाउन आवश्यक रहेको बताए ।

सिद्धबाबा सडकलाई व्यवस्थित बनाउनका लागि प्रदेश सरकारले प्रत्येक वर्ष १० करोड रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्