१३ असार २०८३, शनिबार

च्याम्पियन्स लीगमा मेस्सी र रोनाल्डो नभएर के भो त ? छँदैछन् नि एम्बाप्पे

चैत २६, २०७७
च्याम्पियन्स लीगमा मेस्सी र रोनाल्डो नभएर के भो त ? छँदैछन् नि एम्बाप्पे

यस सीजनको च्याम्पियन्स लीगमा महान् खेलाडीहरू लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई क्वार्टरफाइनलमा देख्न नपाइए पनि कीलियन एम्बाप्पेले उनीहरूको कमी अनुभव हुन दिएका छैनन् । 

विश्वकप जितेका एम्बाप्पेले आफ्नो क्लब पेरिस सेन्ट–जर्माँका लागि दुई गोल गरेर बायर्न म्युनिखविरुद्ध क्वार्टरफाइनलको पहिलो लेगमा क्लबलाई बलियो स्थानमा राखेका छन् । 
 

पीएसजीले बायर्नलाई उसकै मैदानमा ३–२ ले हराएको हो । 

अघिल्लो सीजनको फाइनलमा बायर्नबाट हारेको चोटको बदला पीएसजीले मज्जैले लियो । 

खेल निकै उत्साहजनक रह्यो । बायर्नले आक्रमण व्यापक मात्रामा गरेको भए पनि पीएसजीले बायर्नको आक्रमणलाई सम्हाल्दै आफैं पनि द्रुत गतिमा अघि बढ्यो । 

अनि माउरिसियो पोचेट्टिनोको प्रशिक्षणमा रहेको पीएसजीको सबभन्दा बलियो हतियार एम्बाप्पे नै साबित भए । 

खेल शुरू भएको केही मिनेटमै उनले बायर्नको डिफेन्सलाई रनभुल्ल पार्दै सही पोजिसनमा रही म्यानुएल नोयरलाई केही गर्नै नदिई गोल गरे । 

त्यसपछि मार्किन्होसले नेयमारको क्रसलाई सदुपयोग गर्दै अर्को गोल थपेर पीएसजीलाई २–० को अग्रता दिलाए । 

बायर्न पछि खेलमा फर्कियो । एरिक म्याक्सिम चौपो–मोटिङ तथा टमस मुलरको हेडरमार्फत बायर्नले खेललाई २–२ को बराबरीमा ल्यायो । 

तर बायर्नलाई हावी हुन नदिई एम्बाप्पे देब्रेतिरबाट दौडँदै आए अनि गोल गरिदिए । नोयर हेरेको हेर्‍यै भए । 

यस खेलमा पीएसजीले निकै कम अवसर पाएको थियो र एम्बाप्पे जस्तो कूल खेलाडी उनीहरूका लागि आवश्यक थिए । एम्बाप्पेकै कारण अर्को हप्ता आफ्नो गृहमैदान पार्क देस प्रिन्समा दोस्रो लेगमा पीएसजीको सम्भावना प्रबल छ । 

नकआउट चरणमा एम्बाप्पे निर्णायक बनेको यो दोस्रो अवसर हो । यसअघि अन्तिम १६ मा उनले बार्सिलोनामा क्याम्प नाओमै ह्याटट्रिक गरेर टीमलाई ४–१ को प्रभावशाली अग्रता दिलाएका थिए । 

च्याम्पियन्स लीगको निर्णायक चार खेलमा एम्बाप्पेले आठ गोल गरेका छन् । मेस्सी र रोनाल्डोबाट प्रशंसकहरूले वर्षौंदेखि यस्तै अपेक्षा गर्दै आएका छन् । 

वास्तवमा फ्रान्सको कुनै पनि खेलाडीले च्याम्पियन्स लीगको एक सीजनमा आठभन्दा बढी गोल गरेको छैन । अनि एम्बाप्पेले २२ वर्षको उमेरमा नकआउट खेलमा गरेको गोल जति त महान् खेलाडी थिएरी हेनरीले आफ्नो पूरा करीयरमा गर्न सकेका थिएनन् । 

अर्को मंगलवार पीएसजीले बायर्नलाई हराउन सक्छ कि सक्दैन भविष्यले नै बताउनेछ तर यस सीजनमा एम्बाप्पेले आफूलाई महान् खेलाडीका रूपमा स्थापित गराउन थालेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्