
ललितपुर महानगरपालिका–२८ हरीसिद्धी खरिबोट चोकस्थित अर्वन ओएसिस ईन्टरप्राइजेजबाट करीब ९५ लाख ७६ हजार ८५५ रुपैयाँ बराबरका २३८ थान विभिन्न कम्पनीका सुटकेश, ब्याग, ल्यापटपको झोला भएका कार्टुन चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१५ सिचाहिटी बस्ने सिन्धुली तिनपाटन गाउँपालिका–८ घर भएका ३२ वर्षीय यमकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका–३२ नरेफाट बस्ने रामेछाप दोरम्बा गाउँपालिका–६ घर भएका २७ वर्षीय प्रदीप गौतम, काठमाडौं महानगरपालिका–९ गौशाला बस्ने सुनसरी माता नगरपालिका–६ घर भएका २६ वर्षीय महेश अधिकारी, काठमाडौं महानगरपालिका–३१ शान्तिनगर बस्ने धनकुटा महालक्ष्मी नगरपालिका–१ घर भएका २३ वर्षीय दिपक खड्का र सोही ठाउँ बस्ने २५ वर्षीय नविन अधिकारी छन् ।
ईन्टरप्राइजेजबाट चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले सोमवार प्रदीपको डेरा कोठाबाट ११२ थान विभिन्न कम्पनीका सुटकेश भएका कार्टुनहरू फेला पारी प्रदीप, यमकुमार र महेशलाई घटनामा प्रयोग भएको बा२१च ७३४४ नम्बरको गाडीसहित पक्राउ गरेको थियो । महेशको कोठबाट विभिन्न कम्पनीका सुटकेश ६ कार्टुन, सुटकेश २२ थान, ब्यागहरू ३६ थान, १ थान सुन जस्तो देखिने पहेंलो धातुले बनेको मंगलसूत्र, १ जोर जुली मुन्द्रा, १ थान मुन्द्रा, १ थान ल्यापटप र नगद १ लाख ५ हजार रुपैयाँ फेला पारी बरामद गरेको हो ।
थप अनुसन्धानको क्रममा घटनामा संलग्न दिपक र नबिनलाई मंगलवार प्रहरीले पक्राउ गरेको छ ।
उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट चोरी मुद्दामा म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।