![एमालेद्वारा संसदीय समितिमा हेरफेर प्रस्ताव, सुनुवाइ समितिबाट पाण्डे आउट [कुन–कुन समितिमा फेरबदल ?]](https://lktcdn2.prixacdn.net/media/thumb_iptdFvg6Hz.jpg)
नेकपा एमालेले संसदीय समितिमा सदस्यहरु फेरबदलका लागि सभामुख अग्नि सापकोटालाई पत्र पठाएको छ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई पत्र पठाइ संसदीय समितिमा हेरफेरका लागि आग्रह गरेको हो ।
सर्वोच्च अदालतको आदेशले नेकपा भंग भइ एमाले व्युँतिएपछि उसले संसदीय समितिमा सदस्य हेरफेरका लागि सभामुखसँग पत्र पठाएको थियो । गत बिहीवारको बैठकमा नै सदस्यहरुको हेरफेर सम्बन्धी जानकारी गराउने तयारी भएपनि माओवादी केन्द्रले नाम नदिदा समितिमा हेरफेर भएको थिएन ।
नेकपा एमालेले आफूहरु संसदीय समितिमा नेकपाको हैसियतमा प्रतिनिधित्व गर्नु परेको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले छिट्टै समितिमा रहेका सदस्य हेरफेर गर्ने बताएका थिए । सम्बन्धित संसदीय दलले समितिमा हेरफेरको प्रस्ताव गरेपछि सभामुखले हेरफेरको सुचना सुनाउने व्यबस्था छ ।
एमालेले संसदीय सुनुवाइ विशेष समितिबाट सुरेन्द्र पाण्डेलाई हटाएर खगराज अधिकारी, विशाल भट्टराई, शान्ता चौधरी र राजेन्द्र राईलाई पठाउन प्रस्ताव गरेको छ । यसअघि नेकपा मुख्य सचेतक देव गुरुङले पूर्वमाओवादी खेमाका ४ जनाको नाम संसदीय समितिमा सिफारिश गरेका थिए ।
एमालेले संसदीय समितिको सदस्य हेरफेरको प्रस्ताव गरेपछि १५ सदस्यीय समितिमा रहेका ४ मध्ये माओवादीका २ सांसद अन्य समितिमा जानु पर्नेछ ।
एमालेले संसद सञ्चालनको लागि महत्वपूर्ण ठानिएको कार्यव्यवस्था परामर्श समिति, संसद भित्रका दुइ प्रभावशाली समिति राज्य व्यबस्था र लेखा समितिमा पनि सदस्य हेरफेरको प्रस्ताव गरेको छ । राज्य व्यबस्था समितिले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय लगायत संवैधानिक आयोगका काम कार्वाही हेर्ने गर्छ ।
राज्य व्यवस्थामा महेश बस्नेत, खेम लोहनी र दामोदर भण्डारीको नाम सिफारिश गरिएको छ । यसअघि मन्त्री रहेर समिति बिहिन रहेका घनश्याम भुसाल र योगेश भट्टराई कृषि तथा जलस्रोत समितिमा पठाउन सिफारिश गरिएको छ ।
सोमवार बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले सदस्यहरुको हेरफेरको निर्णय सुनाउने सम्भावना छ ।

