०२ असार २०८३, मंगलबार

कांग्रेसको नेतृत्वमा सरकार बनाउन नसकिने जसपाको निश्कर्ष

कांग्रेसको नेतृत्वमा सरकार बनाउन नसकिने जसपाको निश्कर्ष

सत्ता समीकरणका लागि निर्णायक ठानिएको जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेसको नेतृत्वमा सरकार बनाउन तत्काल सम्भव नभएको निश्कर्ष निकालेको छ । राजधानीमा आइतवार बसेको जसपा पदाधिकारीको बैठकमा बहुसंख्यक सदस्यहरु कांग्रेसको नेतृत्वमा सरकार बनाउन सम्भव नभएको निश्कर्षमा पुगेका हुन् । 

शुक्रवार कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने भन्दै सहयोगका लागि माओवादी केन्द्र र जसपासँग आग्रह गरेको थियो । माओवादीले कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएपनि जसपाले पार्टीमा छलफल गरेर निर्णय दिने बताएको थियो । 

‘तत्काल कांग्रेसको नेतृत्वमा सरकार बनाउन सम्भव छैन, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हामीहरुका माग पूरा गर्ने प्रतिबद्धता जनाएकोले सरकारसँगै हामी छलफल अघि बढाउछौ’ जसपाका एकजना नेताले लोकान्तरसँग भने । जसपाले लाल आयोगको प्रतिवेदन कार्यान्वयन तथा राजनीतिक आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता गर्न सरकारसँग माग गरेको छ । 

जसपाका अर्का नेता लक्ष्मणलाल कर्ण आफूहरुका माग जसले पूरा गर्छ उसैसँग सहकार्य गर्ने पार्टीको नीति रहेको बताए । ‘जसले काम गछ, जसले हाम्रा माग पूरा गर्छ उसैलाई हाम्रो समर्थन रहन्छ, सरकारले हाम्रा माग पूरा गर्न गृहकार्य गरिसकेको छ’ कर्णले लोकान्तरसँग भने । 

सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल तथा राजपाको तर्फवाट कर्णको नेतृत्वमा वार्ता टोली गठन गरी पटक पटक अनौपचारिक छलफल भइसकेको छ । कतिपय प्रक्रियाका विषयमा छलफल बाकी रहेपनि जसपाका माग पूरा गर्नेबारे सरकारसँग सहमति नजिक पुगिएको ती नेताले बताए । 

अध्यक्ष महन्थ ठाकुर, प्रभावाली नेता राजेन्द्र महतो लगायत जसपाका बहुसंख्यक नेताहरु ओली सरकारबाटै आफूहरुका माग पूरा गराउने पक्षमा छन् । अर्का अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु भने ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन् । 

यादव र बावुराम भट्टराई लगायतका नेताहरु कांग्रेसको नेतृत्वमा सरकार बनाउने भन्दापनि आफ्नै पार्टीको नेतृत्वमा सरकार गठनको विषयमा पहल गर्नुपर्ने बताउँदै आएका छन् । 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले ‘वैकल्पिक सरकार पार्टीकै नेतृत्व’मा बनाउने कांग्रेसको निर्णय रहेको बताए । ‘अन्य पार्टीको नेतृत्वमा सरकार गठन गर्नेबारे कुनै निर्णय भएको छैन’ लेखकले लोकान्तरसँग भने । 

ओली सरकारलाई समर्थन गर्ने कि नयाँ समीकरण बनाउने भन्ने विषयमा सहमति जुटन नसक्दा चैत्र ५ गतेका लागि बोलाइएको कार्यकारीणी परिषद्को बैठक बस्न सकेको छैन । तयारी नपुगेको भन्दै होली पछि बस्ने भनिएको बैठक अझै अनिश्चित छ । 

आइतवारको बैठक पछि संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष यादवले सरकार बिरुद्ध उभिनुको विकल्प नरहेको बताए । सत्ता समीकरणमा निर्णायक मानिएको जसपा वैकल्पिक सरकार गठनमा जसपाले अनिच्छा देखाएपछि कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रयास तत्काल सार्थक नहुने देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्