
पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दु धर्म र संस्कृति बचाउनुपर्नेमा जोड दिएका छन् । उनले कतिपय वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि पूर्वीय दर्शन, धर्म र सनातनी संस्कारमा ह्रास आएको बताएका हुन् ।
शनिबार भारतको हरिद्वार स्थित महाकूम्भ मेलालाई सम्बोधन गर्दै पूर्वराजाले यस्तो बताएका हुन् । धर्म बचाउँदै संस्कृतिको रक्षा गरेर मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नुपर्ने पूर्वराजाको भनाइ छ ।
‘अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नु छ । हाम्रा गंगा नद नदीहरूको प्रवाह स्वच्छ पार्नु छ’, शाहले भने, ‘भगवान रामले भन्नु भएको थियो “अपि स्वर्ण मणि लंका न मे लक्ष्मण रोचति जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” भन्ने सद्यूक्तिको ख्याल हामीले राख्नै पर्दछ ।’
उनले के नेपाल सानो छ ? भन्ने महाकवि लक्ष्मी प्रसाद देवकोटाको निवन्धको पनि स्मरण गर्दै आर्य सभ्यताको महत्व खिइँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
‘सानो छँदा मैले हाम्रा महाकवि लक्ष्मी प्रसाद देवकोटाले लेख्नु भएको, के नेपाल सानो छ ? भन्ने निबन्ध पढेको थिएँ बडो चिन्ताका साथ हाम्रो आर्य सभ्यताको महत्व खिइँदै गएको कुरामा उहाँले उक्त निबन्धमा लेख्नु भएको थियो । हो, कतिपय वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनी संस्कारमा ह्रास आएको कुरा साँचो हो’, पूर्वराजा शाहले भनेका छन् ।