सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ र ५ मा निर्माण भएको २२ दशमलव १ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाले व्यवसायिक उत्पादन थाल्दैछ ।
निजी क्षेत्रको शिवश्री हाइड्रोपावर लिमिटेड (SSHL) द्वारा निर्माण भएको आयोजनाबाट उत्पादित विद्युत् गत मंगलवार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका कार्यकारी निर्देशक उमेश कसजुले जानकारी दिए ।
प्रतिमेगावाट २२ करोड रुपैयाँ लगानी भएको आयोजनाबाट हाल नदीको बहाव कम भएकाले दैनिक सरदर ३ दशमलव ४ देखि चार मेगावाटसम्म विद्युत् उत्पादन भएको छ ।
पानीको बहाब बढेसँगै उत्पादन पनि बढ्दै जानेछ । नेपाली प्राविधिकद्वारा डिजाइन गरी सम्पूर्ण कार्य नेपाली प्राविधिकद्वारा नै गरिएको आयोजनाको हेड ८१५ मिटर रहेको छ ।
फुल्पींकट्टीको चन्द्रपुमा बाँध बाँधी मामिंङको याङले फाँटमा विद्युत् गृह निर्माण भएको आयोजनाको सुरुङमार्ग तीन हजार ३०० मिटर रहेको छ ।
अरनिको राजमार्गको १०० किलोमिटरमा पर्ने मार्मिङको चाकु बजारबाट ३० किलोमिटर पहुँच मार्ग निर्मण गरी आयोजनास्थलदेखि २२ किलोमिटर लामो प्रसारण लाइनमार्फत लामोसाधुस्थित राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि वि.सं २०७२ को विनाशकारी भूकम्प, नाकाबन्दी र पटकपटक बाढी पहिरोका कारण लामो समय लागेको आयोजनाले जनाएको छ ।
उक्त कम्पनीद्वारा निर्माण भइरहेको ३६ मेगावाटका अपर बलेफी आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको कार्यकारी निर्देशक कसजुले जानकारी दिए ।