०७ साउन २०८३, बिहीबार

प्रदेश २ मा माओवादी छाडेका ४ सांसदको पद जाँदै, एक पदमा माओवादीले नयाँ सांसद चुन्न पाउने

चैत ३०, २०७७
प्रदेश २ मा माओवादी छाडेका ४ सांसदको पद जाँदै, एक पदमा माओवादीले नयाँ सांसद चुन्न पाउने

नेकपा माओवादी केन्द्र छाडेर एमालेमा लागेका प्रदेश २ का ४ सांसदको पद रिक्त हुने भएको छ । माओवादी केन्द्रका संसदीय दलका नेता भारत साहले सोधेको स्पष्टीकरणको जवाफ नआएपछि चारजना सांसदले दल त्याग गरेको सूचना माओवादी केन्द्रले आइतवार प्रदेश सभा सचिवालयलाई पठाएको छ ।

यसअघि माओवादी केन्द्रको संसदीय दलको नेता रहेका धनुषाका रामचन्द्र मण्डल, बाराकी ज्वालाकुमारी साह, रौतहटका कुन्दनकुमार कुशवाह र बाराका समानुपातिक सांसद मोहम्मद समीर एमालेमा गएपछि चैत २७ गते नै चौबीस घण्टे स्पष्टीकरण सोधिएको साहले बताए ।

'उहाँहरू नेकपा एमालेमा लागेको भन्ने कुरा सार्वजनिक सञ्चारमाध्यमबाट थाहा पाएको हुनाले तपाईंको स्थिति के हो, माओवादीमै हो वा एमाले प्रवेश गर्नुभएको के हो, चौबीस घण्टाभित्र लिखित जवाफ पेश गर्नका लागि स्पष्टीकरण सोधेका थियौं,' साहले भने, 'तर चौबीस घण्टाभित्रमा समेत जवाफ नआएपछि मैले मौखिक रूपमा समेत सोधेका थियौं, उहाँहरू नफर्किने भनेर भनेपछि पद रिक्त गर्नका लागि प्रदेश सभा सचिवालयलाई पत्र पठाएको हो ।'

यता स्पष्टीकरणको जवाफ दिनुको कुनै औचित्य नभएका कारण जवाफ नदिएको रामचन्द्र मण्डलले बताए । 'मैले कानूनीरूपमा नै दल त्याग गरेको भनिसकेको छु, सांसद पद जान्छ भन्ने कुराको ज्ञान र चेतना हुँदाहुँदै म एमालेमा प्रवेश गरेको हो,' मण्डलले भने, 'अहिलेको अवस्थामा माओवादी विघटनको स्थिति पुगेको छ । म एमाले प्रवेश मात्र गरेको छैन, एमालेको केन्द्रीय कमिटी सदस्य समेत भइसकेको हुनाले अब माओवादीमा फर्किने कुरै छैन ।'

मण्डल एकताअघि माओवादी केन्द्रको संसदीय दलको नेता थिए । माओवादीमा नै फर्किनुस् भनेर पार्टीका केन्द्रीय प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेल, हरिबोल गजुरेलदेखि समकालीन नेताहरूले समेत पटक-पटक आग्रह गर्दा पनि ब्याक नभएको मण्डलले बताए ।  

मण्डल एमालेमा लागेपछि काठमाडौंमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङको संयोजकत्वमा चैत्र २७ गते बसेको बैठकले २ नम्बर प्रदेश सभामा पदाधिकारी चयन गर्ने राजनीतिक निर्णय गरेको थियो ।

माओवादी केन्द्रका नेता वर्षमान पुन, प्रमुख सचेतक देव गुरुङ, स्थायी कमिटी सदस्यहरू मातृकाप्रसाद यादव, गणेश साह, विश्वनाथ साह, अजयशंकर नायक तथा २ नम्बर प्रदेशका सांसदहरूको उपस्थितिमा संसदीय दलको पदाधिकारी चयन गरिएको थियो । दलको नेतामा भारत साह, उपनेतामा जगतप्रसाद यादव, प्रमुख सचेतकमा दिलिपकुमार साह र सचेतकमा रुबी कर्णलाई चयन गरिएको थियो ।

प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार प्रदेश सभामा कानून सम्बन्धी उपसचिव अहिले नभएका कारण चैत्र २९ गते निर्णय लिन असम्भव भएको थियो । सभामुख सरोज कुमार यादवले कानूनी परामर्श लिएर माओवादी केन्द्रले पठाएको पत्र प्रदेश सभाको बैठकमा पढेर सुनाएपछि स्वतः पद रिक्त हुने यादवले बताए ।

समानुपातिक सांसद मोहम्मद समिरको स्थानमा माओवादी केन्द्रले नयाँ व्यक्तिलाई मनोनयन गरेर पठाउने माओवादी संसदीय दलका नेता साहले बताए ।

तर, तीनवटा निर्वाचित स्थानमा भने जनताले आफ्नो जनप्रतिनिधि पाउने छैनन् । त्यहाँ उप-निर्वाचन गरेर मात्र नयाँ जनप्रतिनिधि चयन गर्न सकिनेछ ।  

salt training

कमेन्ट गर्नुहोस्