२१ जेठ २०८३, बिहीबार

कोरोना संक्रमित १ जनाको मृत्यु

चैत ३०, २०७७
कोरोना संक्रमित १ जनाको मृत्यु

कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण सोमवार मृत्यु भएको छ । 

कडा खालको निमोनियाले अवस्था जटिल भएपछि आइतवार राति अस्पताल पुगेका उनको नमूना परीक्षण गर्दा कारोना संक्रमण पुष्टि भएको थियो ।
 
सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले आइतवार राति भर्ना भएका उनको अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा सोमवार बिहान मृत्यु भएको जानकारी दिए ।

गत फागुनमा उनी भारतबाट घर फर्किएका जनाइएको छ । सेती प्रादेशिक अस्पतालमा संक्रमित ४ जनाको उपचारको व्यवस्थापन भइरहेको छ ।

‘संक्रमितमध्ये २ जनाको भेन्टिलेटरमा र १ जनाको आईसीयूमा उपचार भइरहेको छ,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘फागुन १० गतेयता कोरोनाका कारण हुने मृत्युदर अस्पतालमा शून्य रहेकामा सोमवार ५० दिनपछि १ जना संक्रमितको मृत्यु भएको हो ।’

पछिल्ला हप्तामा भारतमा कोरोनाको संक्रमण र मृत्युदर बढेसँगै नेपालमा कोरोना फैलिने जोखिम देखिएको छ । सुदूरपश्चिम प्रदेशसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा कोरोनाको संक्रमण बढेसँगै शैक्षिक संस्था बन्द गरिएको छ ।

महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचाररत १ जना संक्रमितको पनि केही दिनअघि मृत्यु भएको थियो । रोग फैलिन नदिन सचेतना कार्यक्रम सञ्चालन भइरहेको भए पनि स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा भइरहेको लापरवाहीले कोरोना भाइरसको जोखिम बढ्ने देखिएको श्रेष्ठले बताए ।

मास्क नलगाई हिँड्ने, एकआपसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ । पछिल्ला दिनमा प्रदेशमा कोरोनाको संक्रमण दर बढ्दै गएको छ ।

स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांक अनुसार पछिल्ला ३ हप्तामा १२७ जनामा संक्रमणको पुष्टि भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्