खेलकुदमा चासो राख्ने जोकोहीका लागि प्रतिभा माली चरिपरिचित नाम हो ।
भलिबलकी राष्ट्रिय खेलाडी प्रतिभा एक दशकभन्दा लामो समयदेखि देशको प्रतिनिधित्व गरेर खेलिरहेकी छिन् ।
७ वर्षको उमेरदेखि भलिबलमा लागेकी प्रतिभा कक्षा ८ मा पढ्दा नै राष्ट्रका तर्फबाट प्रतिनिधित्व गर्न सफल भएकी थिइन् ।
आफ्नो जीवनमा भलिबल र स्कूलबाहेक केही नरहेको बताउने प्रतिभा न्यू डाइमन्ड स्कूलका प्रिन्सिपल तथा कोच कुमार राईको प्रोत्साहनलाई खेलमा लाग्नुको मुख्य कारण मान्छिन् ।
प्रतिभाको शरीरमा नसा–नसामा भलिबल बग्छ । ‘सपनामा समेत भलिबल खेलेको देख्छु, कहिले जितेको त कहिले हरेको,’ उनले भनिन् ।
प्रतिभा खेलका क्रममा घाइते भएर केही समय मैदान बाहिर रहिन् । यसबीचमा पनि शुभेच्छुकहरूले निरन्तर माया र सपोर्ट गरेको उनको अनुभव छ ।
अहिले भलिबल मुलुकको राष्ट्रिय खेल बनिसकेको छ ।
राज्य सँग प्रतिभाको एउटा गुनासो छ– ‘हाम्रो देशमा भलिबल खेल्ने एउटा राम्रो कबर्ड हल समेत छैन ।’
खेलाडीलाई सेवा सुविधा पनि राम्रो भइदिए खेलमा लाग्न प्रोत्साहन मिल्ने उनी बताउँछिन् ।
दक्षिण एसियाली मुलुक माल्दिभ्सले भलिबल खेलाडीलाई दिएको सुविधा देखेर आफूहरूलाई इर्श्या हुने समेत उनले बताइन् ।
खेलकुदको संरचना विस्तार र खेलाडीको सेवा सुविधामा राज्यको ध्यान जान आवश्यक रहेको उनको सुझाव छ ।
बाँकी भिडियोमा :