२८ जेठ २०८३, बिहीबार

बुटवल उपमहानगरद्वारा विद्यालयलाई नयाँ मापदण्ड

बुटवल उपमहानगरद्वारा विद्यालयलाई नयाँ मापदण्ड
फाइल तस्वीर

पछिल्ला केहि दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले कोरोना जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ । 

कोरोनाको पुरानै र नयाँ प्रजाति समेतको भाइरसको जोखिम बढ्दै गएपछि स्वास्थ्य सावधानीसहितको नयाँ मापदण्ड अपनाएर मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।

जोखिममा रहेको समुदायलाई नै पहिल्यै सुरक्षित बनाउने र समुदाय स्तरमा सचेतना जगाउने उद्देश्यले शैक्षिक संस्था सञ्चालनको नयाँ मापदण्ड बनाएर निर्देशन गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

बालबालिकालाई जोगाउने र उनीहरूलाई नै परिवार हुँदै समुदायमा सन्देश वाहक दूतका रुपमा पनि परिचालन गर्नेगरी योजना बनाइएको प्रमुख सुवेदीको भनाइ छ ।

विद्यालय प्रवेश र बसमा चढ्नु अगाडि थर्मल गनबाट अनिवार्य तापक्रम नाप्ने, गुणस्तरीय मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने, सकेसम्म बालबालिकालाई बसमा नचढाइ अभिभावकले विद्यालय पु¥याउने र विद्यालय परिसरमा साबुनपानीको व्यवस्था मिलाउनुपर्नेलगायत अन्य स्वास्थ्य मापदण्ड पालना गर्न निर्देश गरिएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए  ।

विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीमा कोभिडसँग मिल्ने लक्षण देखिएमा पीसीआर परीक्षणका लागि नगरपालिकामा सम्पर्क गर्न आग्रह गरिएको छ । यस्तै कुनै पनि बालबालिकाका अभिभावकमा पनि कुनै लक्षण देखिएको सूचना पाएमा सम्बन्धित वडा कार्यालय मार्फत समन्वय गर्नेगरी संयन्त्र तोकिएको उपमहानगरले जनाएको छ । सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र, स्वस्थ्य चौकी तथा स्वास्थ्य संस्थामा फिबर क्लिनिकदेखि कोरोना विशेष अस्पताल नै सञ्चालन गरेर उपमहानगरपालिकाले मुलुकमै नमुना काम गर्दै आएको छ ।

बुटवलमा निर्माण भएको आइसीयुसहितको कोरोना विशेष अस्पताल मुलुककै व्यवस्थित र नमुना मानिएको थियो । छोटो अवधिमै अस्पताल निर्माण गरेर सबै वडामा संयन्त्र गठन गरेर कोरोना विरोधी अभियान सञ्चालन गर्नेमा बुटवल नै पहिलो पालिका बनेको थियो । 

बुटवलको नयाँ मापदण्डमा विद्यार्थीले खाजापानीसमेत घरबाट ल्याउनुपर्ने र टिफिन ब्रेक नगरी लगातार कक्षा सञ्चालन गरेर छिटो विद्यार्थी छोड्न आग्रह गरिएको छ । 

त्यसैगरी कक्षा सञ्चालन गर्दा एउटा कक्षामा तीस जनासम्म विद्यार्थी र एउटा बेन्चमा दुईजना मात्र विद्यार्थी राख्न पनि उपमहानगरले आग्रह गरेको छ ।

जेठमा गर्ने भनिएको वार्षिक परीक्षा जुनसुकै बेला पनि गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै बुटवल उपमहानगरले सम्पूर्ण विद्यालयलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ । 

साथै यो समयमा शैक्षिक भ्रमणलगायतका कार्यक्रम नराख्नसमेत विद्यालयलाई निर्देशन जारी गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्