
काठमाडौं महानगरपालिकाले कुनै शिक्षक तथा विद्यार्थीमा कोरोना संक्रमण देखिएमा अर्को सूचना जारी नभएसम्म (कम्तिमा एक साता) विद्यालय बन्द गर्न अपिल गरेको छ ।
महानगरपालिका अन्तर्गत शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले महानगरपालिका भित्रका विद्यालयका नाममा परिपत्र जारी गर्दै यस्तो अपिल गरेका हुन् ।
'काठमाडौं महानगरपालिका प्रमुख स्तरको मिति २०७८/०१/०२ गतेको निर्णय अनुसार कोभिड- १९ संक्रमणको बढ्दो क्रम देखिएकाले कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्म कम्तिमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्नु गराउनु हुन र त्यस्तो अवस्था नभएका विद्यालयहरूले सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसँग हात धुने/स्यानिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विगतमा जारी गरिएका मापदण्डहरूको कडाइका साथ पालना गरी अभिभावकहरू समेतको सहमतिमा विद्यालय सञ्चालन गर्नु/गराउनु हुन अनुरोध छ,' महानगरपालिकाले भनेको छ ।

यसअघि बुधवार एक अपिल जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंसहित अति जोखिममा रहेका १४ जिल्लामा विद्यालय तथा भीडभाड हुने क्षेत्रमा नगइदिन अपिल गरेको थियो ।