
सन् २०२१ को पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्र पोहोर सालको तुलनामा १८.३ प्रतिशतले बढेको छ ।
चीनको कुल गार्हस्थ्य उत्पादन सन् १९९२ पछि सबभन्दा धेरै बढेको हो । चीनले त्यसै वर्षदेखि त्रैमासिक वृद्धिको रेकर्ड राख्न थालेको हो ।
शुक्रवार जारी गरिएको आँकडा अपेक्षाअनुसार नभए पनि कोरोनाले विश्व अर्थतन्त्र ध्वस्त पारेको बेलामा चीनको यस्तो वृद्धि लोभलाग्दो नै मान्नुपर्छ ।
सन् २०२० को पहिलो त्रैमासिकमा कोभिड–१९ महामारी र राष्ट्रव्यापी लकडाउनका कारण चीनको अर्थतन्त्र ६.८ प्रतिशतमा खुम्चेको थियो ।
एक वर्षभित्र मार्च महिनामा औद्योगिक उत्पादन १४.१ प्रतिशतले बढेको देखिन्छ भने खुद्रा बिक्रीमा ३४.२ प्रतिशत वृद्धि भएको छ ।
चीनको यो नयाँ आँकडाले सन् २०२० को अन्तिम त्रैमासिकमा ६.५ प्रतिशतको वृद्धिपछि आर्थिक वृद्धि कायम रहने नै देखिएको छ ।
महामारीले अर्थतन्त्रमा ठूलै चोट दिएको भए पनि कोरोना संक्रमण रोक्न सफलता पाएकाले अनि व्यापार क्षेत्रलाई आपतकालीन राहत उपलब्ध गराएकाले चीनको अर्थतन्त्र बढेको पाइएको हो ।
चीनले सन् २०२१ मा आर्थिक वृद्धिको दर ६ प्रतिशत राखेको छ ।