
सत्तासाझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रवार प्रदेश सभामा विश्वासको मतका लागि प्रयास गर्दैछन् ।
कर्णाली प्रदेश सभाको बैठक शुक्रवार दिउँसो २ बजेका लागि बोलाइएको छ ।
अल्पमतमा परेका शाहीले राजीनामा नदिने भन्दै विश्वासको मत लिन प्रदेश सभा सचिवालयमा निवेदन दर्ता गराएका थिए ।
फागुन २३ गतेको सर्वोच्च अदालतको आदेशले नेकपा एकता भंग भएपछि एमालेले शाहीलाई दिएको समर्थन फिर्ता गरेको थियो ।
एमालेभित्र माधव नेपाल पक्षका सांसदहरूले पनि सरकार छाडेपछि शाही नैतिक संकटमा परेका थिए ।
शुक्रवार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले कुनै निर्णय गर्न नसकेपछि शाहीले विश्वासको मत पाउने सम्भावना कमजोर बनेको विश्लेषण गरिएको छ ।
सरकार जोगाउन शाहीले कर्णाली प्रदेशमा रहेका ३९ मध्ये २० सांसदको मत पाउनु पर्नेछ ।
माओवादी केन्द्रसँग हाल १२ सांसद छन् । कांग्रेससँग ६ र राप्रपासँग १ सांसद छन् । राप्रपा तटस्थ बस्ने निर्णय गरेको छ । एमालेबाट ‘फ्लोर क्रस’ हुने माओवादी केन्द्रको विश्वास छ ।
एमालेले नयाँ मुख्यमन्त्रीका लागि संसदीय दलका नेता यामलाल कंडेलको नाम अगाडि सारेको छ ।
सरकार बनाउनका लागि एमालेले कांग्रेस या राप्रपाका एक सांसदको समर्थन लिनु अनिवार्य हुनेछ ।
एमालेसँग २० सांसद रहेपनि सभामुखको मताधिकार नहुँदा वैकल्पिक सरकार बनाउनका लागि अर्को दलको सहयोग लिनु अनिवार्य बनेको हो ।
२०७४ सालमा एमालेको समर्थनमा माओवादी केन्द्रका नेता शाही मुख्यमन्त्री बनेका थिए । नेकपा एकता भंग नहुँदै पनि शाहीलाई हटाउने कसरत भएको थियो ।