
नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले रामपुर कृषि क्याम्पसका विद्यार्थीलाई आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।
नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले शुक्रवार एक विज्ञप्ति जारी गरी कृषि क्याम्पस रामपुर चितवनमा अध्ययनरत विद्यार्थी दिनेश बाँनिया, खेमराज उपाध्याय, सोनाम लामा र हिमाल आचार्यमाथि सांघातिक आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही गर्न माग गरेका हुन् ।
‘अध्ययन गर्ने पवित्र संस्थामा आपराधिक जत्थाले हतियारसहित निर्घात आक्रमण गर्दा पनि आक्रमणकारीलाई कारवाही गर्न नसक्नु दुःखद कुरा हो,’ अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
नेविसंघका महामन्त्री दीपक भट्टराईले विश्वविद्यालयलाई वैचारिक राजनीतिक थलो बनाउनुको सट्टा भौतिक आक्रमण गर्ने रणभूमि बनाउने दुष्प्रयास भएको बताए ।
विश्वविद्यालयमा डर र त्रासको वातावरण सिर्जना गरी राजनीतिक आधार खडा गर्ने जोकोहीलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने महामन्त्री भट्टराईको भनाइ छ । गुण्डागर्दीमा संलग्नलाई कारवाही नगरे कडा आन्दोलन गर्ने नेविसंघले जनाएको छ ।