
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे संसदमा छलफल गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ ।
कांग्रेसले संसदलाई बिजनेश दिएर प्रभावकारी बनाउन पनि सरकारसँग आग्रह गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको सर्वदलीय बैठकमा कांग्रेसले एमसीसी अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ ।
‘सर्वदलीय बैठकमा प्रधानमन्त्रीज्यूले एमसीसी कसरी पास गर्ने भन्ने कुरा गर्नुभयो । कांग्रेसको सरकारले हस्ताक्षर गरेको एमसीसीको बारेमा हामी प्रस्ट छौं, आपत्तिजनक केही छ भने हेरौं, सदनमा छलफल गरौं भनेर कुरा राख्यौं,’ बैठकपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका स्थानमा उपनिर्वाचन गर्ने प्रस्ताव गरेका थिए । ‘उपनिर्वाचन पनि गरौं, प्रतिनिधि सभामा उपसभामुखको निर्वाचन किन रोकिएको छ त्यो पनि गरौं भन्यौं,’ पौडेलले भने ।
कांग्रेसले रोकथामका अन्य उपाय अपनाउनुपर्ने भन्दै लकडाउन नगर्न सरकारलाई सुझाव दिएको छ । सर्वदलीय बैठकमा माओवादी केन्द्रका नेताहरू भने सहभागी भएका थिएनन् ।