
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी छाडेर जानेहरूलाई फकाउन मन लाग्न छाडेको बताएका छन् ।
माओवादी निकट शिक्षक संगठनको शैक्षिक अभियान तथा प्रदेश परिषद्को ललितपुरमा उद्घाटन गर्दै प्रचण्डले इज्जत–प्रतिष्ठा छाडेर प्रतिगमनतिर लाग्नेलाई सम्झाउनु मूर्खता भएको बताए ।
‘कतिपय मानिसहरू उता गए, फकाउन मन लाग्न छोडेको छ, जाउन् जस्तो के ! यत्रो यतिहास, विरासत, क्रान्तिकारी इज्जत–प्रतिष्ठा भएको मानिस सबै छाडेर प्रतिगमनको पछि लाग्छन् भने सम्झाउनु मूर्खता हो,’ प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नैतिकताको विचलन देखिएको बताए । ‘विचलनमा गइसकेको हुनाले केपी ओलीसँग नैतिकता भन्ने छैन, भैंसीको अगाडि बिन बजाएजस्तो कुनै अर्थ छैन,’ उनले भने, ‘त्यसमा पनि निश्चित प्रावधानलाई सम्मान गर्ने हो भने केपी ओली एकछिन पनि रहन हुँदैनथ्यो । मैले त चितवनबाटै भनेको थिएँ, आजै रातभरिमा केपी ओलीले राजीनामा दिनुपर्छ । कुनै नैतिक, राजनीतिक, संवैधानिक धरातल छैन भनेको थिएँ ।’