
पछिल्लो २४ घण्टामा देशभर थप ८४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार सार्वजनिक गरेको विवरण अनुसार ६ हजार ४ जनामा परीक्षण गराउँदा ८४३ जनामा संक्रमण देखिएको हो ।
शुक्रवार ९०० जनामा संक्रमण देखिएको थियो । शनिवार देखिएका संक्रमितसँगै नेपालमा अहिलेसम्म कूल २ लाख ८३ हजार ६५८ जनामा संक्रमण देखिएको छ ।
शनिवार देखिएका संक्रमितमा ९ वर्षसम्मका बालबालिका १७ जना र १०–१९ वर्ष उमेर समूहका बालबालिका ७२ रहेका छन् । २०–२९ वर्ष उमेर समूहका युवा १७५ र ३०–३९ वर्ष उमेर समूहका १८५ जना रहेका छन् ।
शनिवारको विवरण अनुसार थप २२६ जना संक्रमित निको भई घर फर्किएका छन् । हालसम्म २ लाख ७५ हजार ३८ जना निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ९७ प्रतिशत रहेको छ ।
संक्रमणबाट थप २ जनाको निधन भएको छ । हालसम्म निधन हुनेको संख्या ३ हजार ७५ जना पुगेको मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये १०० जना सघन उपचार कक्ष र ३८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । काठमाडौं उपत्यकामा ३५ जना सघन उपचार कक्ष र २० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।