काठमाडौं, १४ जेठ –गोरखाको भिमसेन गाउँपालिकास्थित घ्याम्पेसालमा शिक्षकको कुटाइबाट एक बालक सिकिस्त घाइते भएका छन् । आइतवार घ्याम्पेसालस्थित दुल्लभ उच्च माविमा कक्षा ४ मा अध्ययनरत् छात्र राकेश रोकालाई शिक्षक ढकनाथ बस्ताकोटीले कुटेर घाईते बनाएका हुन् ।
कक्षा सञ्चालन भइरहेको समयमा पिसाव फेर्न जान अनुमति माग्दा शिक्षक बस्ताकोटीले छात्र रोकालाई कुटेर घाइते बनाएका हुन् ।
विद्यालयका प्रधानाध्यापक शिवप्रसाद भट्टका अनुसार पिसाव फेर्न जाने अनुमति माग्दा शिक्षक बस्ताकोटीले रोकाको टाउको भित्तामा ठोकाइदिएका थिए ।
ठोकाइको असरले ती छात्र ‘फेन्ट’ भएका थिए । ‘ती बालक मुटुको रोगी थिए, तर कुटाईको असरले गर्दा नै उनी फेन्ट भए,’ विद्यालयका प्रधानाध्यापक भट्टले लोकान्तरसँग भने ।
स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि उनलाई एम्बुलेन्सबाट सदरमुकाम गोरखा ल्याइएको छ । अहिले उनको उपचार भइरहेको प्रधानाध्यापक भट्टले बताए ।
‘बालमैत्री विद्यालयमा कलिला विद्यार्थीलाई कुनै पनि बहानामा कुट्नु गलत हो,’ प्रधानाध्यापक भट्टले थपे, ‘ती छात्र कुट्ने शिक्षकमाथि के कारवाही गर्ने भन्ने सम्बन्धमा विद्यालय व्यवस्थापन समितिको बैठकबाट निर्णय गछौं ।’
सन्दर्भ तस्विर