आइसियु र भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामी बढ्दै

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लागेसँगै सुदूरपश्चिम प्रदेशमा सघन उपचार कक्ष र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामी बढ्न थालेका छन् ।

    सङ्क्रमित भई जटिल अवस्थाका दश जनाको विभिन्न अस्पतालका सघन उपचार कक्षमा र तीन जनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । तीन दिनअघिसम्म सघन उपचार कक्षमा पाँच र भेन्टिलेटरमा एक जनाको उपचार व्यवस्थापन भइरहेको थियो ।
 
    प्रदेशमा कोभिड–१९ का ३७८ सक्रिय बिरामीमध्ये ७५ जना विभिन्न अस्पतालका आइसोलेशनमा र अन्य सक्रिय सङ्क्रमित स्थानीय तहका आइसोलेशनमा रहेका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका कैलाली, कञ्चनपुर, बैतडी, बझाङ, डडेल्धुुरा र डोटीमा गरी ५९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
 
    यसैबीच कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकपछि जारी गरिएको सार्वजनिक सूचनामा कुनै पनि सभा, समारोह वा कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरिएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्