३० जेठ २०८३, शनिबार

ओलीलाई भेटेपछि माधव नेपाल भएनन् ढुक्क, निकटसँग के गरे कुराकानी ?

बैशाख ९, २०७८
ओलीलाई भेटेपछि माधव नेपाल भएनन् ढुक्क, निकटसँग के गरे कुराकानी ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयदेखिको संवादहीनता तोडिएको छ ।

यसअघि गत कात्तिक २३ गते एक्लाएक्लै छलफल गरेका ओली र नेपाल पार्टीमा अनेकन उच्छालकुदपछि बुधवार संवादमा जुटेका हुन् ।

ओली र नेपाल पक्षीय नेताहरूबीच गत चैत १ गते पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफल तिक्ततापूर्वक सकिएपछि यी २ पक्ष आ–आफ्नो बाटो लागेका थिए ।

कात्तिकमा भएको भेटमा नेकपा फुटको डिलमा रहेको भन्दै पार्टी जोगाउन नेपालसँग ओलीले आग्रह गरेका थिए । काठमाडौंस्थित होटल मेरियटको ९०१ नम्बर कोठामा बुधवार २ घण्टा चलेको छलफलमा भने नेपालले पार्टी जोगाउन ओलीसँग अनुरोध गरे ।

छलफलमा शुरूको १ घण्टा ओली मात्रै बोलेको त्यहाँबाट फर्किएपछि नेता नेपालले निकटस्थहरूलाई ब्रिफिङ गरेका छन् । ‘उहाँले एमाले र माओवादीबीचको एकीकरणको पृष्ठभूमिदेखि कुरा गर्नुभयो, त्यसपछि नेकपामा भएका गतिविधि, एकअर्कालाई गरेको कारबाहीका सबै कुरा उठाउनुभयो,’ नेपालले आफूनिकट नेताहरूलाई भने, ‘मैले उहाँका कमजोरीबारे बताएँ, एकताका लागि पहल गर्नुस् भनें । कुनै ठोस प्रस्ताव आएन, अर्को पटक फेरि बस्ने भनेर उठ्यौं ।’

नेता नेपालले २०७५ जेठ ३ अघिको अवस्थाबाट पार्टीलाई फुटबाट जोगाउन सम्भव हुने बताएका थिए । जवाफमा ओलीले नयाँ परिस्थितिमा एमाले निकै अगाडि बढिसकेको बताएका थिए । ‘नेकपामा आफ्नो बहुमत हुँदा तपाईंहरूले मलाई ४ पटक कारबाही गर्नुभयो, पार्टीको साधारण सदस्यबाट समेत निकाल्नुभयो, म भूइँमा पछारिएको मान्छे, धूलो टकटक्याउँदै उठें,’ ओलीको जवाफ उदृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘निर्णयहरू यथावत् छन्, गुटगत वार्ताभन्दा पनि आउने १० गतेको बैठकमा सहभागी हुन आउनुस् म आग्रह गर्छु, त्यहीँ छलफल गरौं ।’ उनीहरू २ घण्टा सँगै बसे पनि आपसी गुनासोमै समय बिताएको सम्बद्ध स्रोतहरूको भनाइ छ । 

ओलीलाई भेटेर फर्किएपछि निकटस्थहरूसँग नेपालले ओलीको भनाइमा आफूलाई कुनै विश्वास नभएको बताएका छन् । ओलीले पनि बालुवाटारमा आफूले नेपाललाई गुटको गतिविधि नगरी पार्टीमा फर्किन आग्रह गरेको ब्रिफिङ गरेका छन् ।

ओली र नेपाल छुट्टाछुट्टै पार्टीको अभ्यासमा लागे पनि दुवै समूहका केही नेता एमाले कुनै हालतमा फुटाउन नहुने पक्षमा थिए । तिनै नेताहरूबीच भएका बारम्बारका संवादले ओली र नेपालबीचको भेट सम्भव भएको हो । ओलीसित भेट्न जानुअघि नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरूको बैठक भएको थियो जसले पार्टी एकताका लागि आह्वान गर्ने निर्णय गरेको थियो ।

वरिष्ठ नेता झलनाथ खनाल र नेपालसहितका २७ संघीय सांसदलाई संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले स्पष्टीकरण सोधेपछि त्यसबारे धारणा बनाउन स्थायी कमिटी सदस्यहरूको बैठक बसेको हो । बैठकमा स्पष्टीकरणको प्रतिवादसहित जवाफ दिने निर्णयसँगै पार्टी एकताका लागि पहल गर्ने निर्णय भएको थियो । यता सहाना प्रधान प्रतिष्ठानको कार्यालयमा नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरूको बैठक चलिरहँदा उता बालुवाटारमा एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्री ओलीसँग भेट गरिरहेका थिए ।

बिहान ११ देखि दिउँसो १ बजेसम्म भएको भेटमा भट्टराईले उदारताका साथ पार्टी एकीकरणको अगुवाइ गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।

‘तपाईंहरू शीर्ष नेताहरूबीच सार्थक संवाद भइरहेको छैन, एकअर्का अडान मात्र प्रकट भएका छन्, एक ठाउँमा बस्दा ती अडानलाई निकास निकाल्ने उपाय निस्कन सक्छन्,’ भट्टराईले ओलीलाई भनेका थिए, ‘त्यसैले तपाईं अध्यक्ष भएको नाताले पनि संवाद र सार्थक कुराकानी गर्न पहल गर्नुहोस् ।’ ओलीले ‘मैले त मिलाउने नै भनेको छु, कहाँ नमिल्ने भनेको छु र ?’ भन्ने जवाफ भट्टराईलाई दिएका थिए ।

ओलीले माओवादीसँगको एकतापछि निरन्तर रूपमा नेपालले गरेको असहयोग, त्यसपछि आफूलाई पार्टीबाट निष्कासन गरेकोसम्मका घटनाक्रमको बेलिविस्तार लगाएका थिए ।

भट्टराईसँग त्यहीँ भेट भइरहेका बेला ओलीले नेपाललाई भेट्न प्रस्ताव गर्दै फोन गरेका थिए । शुरूमा ओलीले उनलाई बालुवाटार नै निम्तो गरेका थिए तर नेपालले कोटेश्वर आउन भने । त्यसपछि ओलीले बालकोटमा भेटौं न त भने । त्यहाँ पनि नेपालले असहज मानेपछि साँझ ६ बजे होटल मेरियटमा भेटघाट गर्ने सहमति जुटेको थियो । प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोती दुगडका नाममा बूक भएको ९०१ नम्बर कोठामा नेपालभन्दा ओली केहीबेर अघि पुगेका थिए ।

एमाले अध्यक्ष ओली र सचिव भट्टराईबीच भेट हुने वातावरण भने मंगलवार साँझ भट्टराई र अर्का सचिव एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबीच ललितपुरको झम्सिखेलमा भएको छलफलमा बनेको थियो । ‘हामी यताका केही साथी पार्टी एकताकै पक्षमा पहिलेदेखि नै छौं, उतातिर पनि सकारात्मक सोचिरहेका तर गुहार नपाएका व्यक्तिहरू को–को हुनुहुन्छ भनेर सोधीखोजी गर्दै जाँदा घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्टजीहरूको नाम आयो । घनश्याम र गोकर्णजीलाई फोन लागेन । योगेशजीलाई फोन गरें अनि मंगलवार साँझ १ जना साथीकोमा बस्यौं,’ गुरुङले भने, ‘त्यहीं नेताहरूबीच कम्तीमा संवादको थालनी गराइदिऔं भन्ने कुरा भयो, आज उहाँहरूबीच भएको भेटले हामी उत्साहित छौं ।’ 

गुरुङले कर्णाली प्रदेशको फ्लोर क्रसले बालुवाटार र सिंहदरबारलाई झस्काएको भए पनि पार्टी एकताबद्ध हुने भए दुवै समूह एक कदम पछि हट्दा फरक नपर्ने बताए । ‘फ्लोर क्रसले झस्काएको छ । समानान्तर कमिटी पनि प्रकारान्तरले अर्को पार्टी गठनकै लागि जाने विषय हो, यी कारबाहीकै विषय हुन तर अरू कारबाहीलाई दुरुत्साहन गर्ने र अब फ्लोर क्रस नहुने वातावरण बनाउनका लागि पहल गर्ने पनि संवाद त जरुरी हुन्छ नै । यही निष्कर्ष हो नभनौं तर सकारात्मक थालनी भएको छ, उहाँहरू निरन्तर छलफलमा बसे पार्टी एकता बच्न सक्छ,’ उनले भने ।

सचिव भट्टराईले पनि ओली र नेपालबीचको संवादलाई सकारात्मक संकेतका रूपमा लिएका छन् । ‘पार्टी नफुटोस् भनेर पहल गरिरहेका छौं तर हाम्रो पहलले मात्र नहुने भएपछि शीर्ष तहमै कुराकानी होस् भन्ने हाम्रो चाहना थियो,’ उनले भने, ‘प्रमुख नेताहरू छलफलमा जोडिनुभएको छ, यो सकारात्मक संकेत हो । यसलाई निरन्तरता दिएर अब एकताबद्ध भएर जाने अवस्था सिर्जना हुन्छ भन्ने अपेक्षा गरेका छौं ।’

शुरूमा नेकपा विभाजन र त्यसपछि एमालेमा आएको दरारपछि संसद्मा सुविधाजनक बहुमत प्राप्त दल रक्षात्मक अवस्थामा पुगेको एमालेका नेताहरू पछिल्लो समय पार्टीमा हुन सक्ने अन्तर्घातबाट झस्किएका छन् । नेपाल पक्षीयहरूले आगामी सत्ता समीकरणमा कर्णालीजस्तै अरू प्रदेश र केन्द्रमा पनि फ्लोर क्रस गर्न सक्छन् भन्ने ओलीको डर र ओलीले जुनसुकै बेला सांसद पदसमेत नरहने गरी कारबाही गर्न सक्छन् भन्ने नेपाल पक्षीय नेताहरूको भय पछिल्लो समय व्याप्त छ । यही भयकै कारण बुधवार ओलीको सम्भावित कारबाही रोक्न माग गर्दै नेपालपक्षीय सांसदहरूले सर्वोच्च अदालतमा रिट दिएका छन् ।

सांसद पद गए पनि जाओस् पार्टी फुटाइहालौं न त भन्ने र अहिले पार्टी फुटाउन हुन्न भन्ने दुई खेमा नेपाल समूहमा पनि स्पष्टै थियो । अहिले पार्टी फुटाउन हुन्न भन्ने खेमासँग बालुवाटारको पनि त्यही धारणा राख्ने एउटा धार संवादमै थियो । २०७१ मा सम्पन्न पार्टीको नवौं महाधिवेशनदेखि नै चर्किएको ओली–नेपाल समूहको अन्तरद्वन्द्व माओवादी केन्द्रसँग मिलेर नेकपा बन्दा पनि सेलाएन, बरु झन् चर्कियो । एमालेको दुई धारको विवादमा एकीकरणपछि नेकपा अध्यक्ष बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत मिसिएपछि अहिलेसम्मकै ठूलो वामपन्थी दल सग्लो रहन सकेन । व्यावहारिक रूपमा फुटिसकेको नेकपालाई गत फागुन २३ गते सर्वोच्चको फैसलाले मार्गप्रशस्त गरिदियो, नेताहरू पूर्ववत् पार्टीमा फर्किए । तर एमालेमा नेपाल पक्षीय नेताहरूलाई त्यति सहज भएन । फागुन २८ गते ओलीले आफूपक्षीय केन्द्रीय सदस्यहरूलाई मात्रै बोलाएर फटाफट निर्णय गरेपछि नेपाल पक्षले त्यसलाई नै एकताको बाधक मान्यो । निर्विकल्प २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने खनाल–नेपाल समूहको प्रस्ताव इन्कार गर्दै आएका ओलीले बुधवार नेपालसँग भेट गरेका हुन् ।

तर ओलीविरुद्धको गठबन्धन सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र र जसपाको एउटा खेमासँगै खनाल–नेपालको पनि सहमति जुटेको थाहा पाएपछि ओली पक्षबाट संवादको वातावरण बनेको त होइन भनेर नेपाल पक्षीय नेताहरू सशंकित भने छन् । ‘ओलीजी आफूलाई अप्ठ्यारो पर्दा असाध्यै लचक हुन सक्ने मान्छे हो, अब कम्तीमा बजेट ल्याउन पाए हुन्थ्यो भन्ने उहाँको मनमा छ,’ एमालेका एक स्थायी कमिटी सदस्यले भने, ‘उहाँ संवादमा त्यति गम्भीर देखिनुहुन्न, अलमल्याउन खोजेको हुन सक्ने हाम्रो बुझाइ छ ।’ प्रधानमन्त्री ओलीले नेपाल पक्षीय सांसदहरूसँग पनि १–१ गरेर भेटेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्