
वैदेशिक रोजगारीबाट फर्केर मेचीनगर नगरपालिका–९ थोप्लेबिरानका सुनिल शिवाकोटीले शुरू गरेको इन्डोनेशियाली प्रविधिमा आधारित भकारीमा माछापालन लाभदायक बनेको छ ।
प्लास्टिकको भकारीमा पानी भरेर माछा पाल्ने इन्डोनेशियाली प्रविधि सुनिलले मलेशियामा रहँदा सिकेको बताए ।
१ वर्षअघि ‘सावनी कृषि फार्म’ दर्ता गरेर उनले आफ्नै घरबारीमा ६० लाख रुपैयाँको लगानीमा २ वटा भकारीमा माछापालन शुरू गरेका हुन् । भकारीमा गरिएको माछापालनबाट पहिलो वर्ष खर्च कटाएर १ लाख रुपैयाँ बचत भएको छ ।
हाल १६ कठ्ठा क्षेत्रफलमा फैलिएको फार्ममा माछा, कुखुरा र बाख्रापालन भइरहेको छ । आगामी दिनमा १० कठ्ठा जमिन लिजमा थपेर व्यवसाय विस्तार गर्ने उनको योजना छ । आगामी दिनमा कुखुराको दाना उत्पादनलाई समेत प्राथमिकतामा राखिएको उनले बताए ।
माछा र कुखुरा किन्न स्थानीय फार्ममै आइपुग्ने गरेका छन् । ‘स्वदेश फर्केर यही विधिबाट माछा पाल्ने सोचेको थिएँ,’ उनले भने, ‘अहिले दाजुसँग मिलेर फार्म दर्ता गरी माछा र कुखुरा पाल्दैछौं ।’
३ वर्ष मलेशियामा बिताउँदा उने इन्डोनेशियाली प्रविधिमा आधारित माछापालनलाई नजिकबाट नियालेको बताए ।
यो प्रविधिअनुसार माछा पाल्नका लागि जमिनमा पोखरी खन्नु पर्दैन । जमिनमाथि नै प्लास्टिकको भकारीमा पानी भरिन्छ र माछाका भुरा छाडिन्छ । यसरी भकारीमा एकपल्ट भरिएको पानी माछा हुर्किन्जेलसम्म काम लाग्छ ।
माछालाई सास फेर्न सहज होस् भनेर पानीमा अक्सिजनको मात्रा बढाउन मेशिन जडान गरिन्छ । माछाको आहार त्यही भकारीमा हालिन्छ । सुनिललाई यो व्यवासायमा दाजु दीपक शिवाकोटीको दर्बिलो साथ छ । दीपक पनि सशस्त्र प्रहरीमा ७ वर्षको जागिर छाडेर माछापालन व्यवसायमा लागेका हुन् ।