
नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुमा बन्ने पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री ओलीले बिहीवार बिहान बल्खु पुगेर पार्टी कार्यालय शिलान्यास गरेका छन् ।
२०७२ सालको भूकम्पले पार्टी कार्यालय भत्काएपछि एमालेले नयाँ भवन बनाउन लागेको हो ।
१३ रोपनी क्षेत्रफलमा फैलिएको बल्खुको जमिनमा अत्याधुनिक भवनको डिजाइन तयार भइसकेको एमाले आर्थिक विभाग प्रमुख एवं कार्यालय भवन ब्यवस्थापन समितिका सदस्य बिष्णु रिमालले जानकारी दिए ।
वैशाख ६ गते बसेको केन्द्रीय कमिटी बैठकले महासचिव इश्वर पोखरेलको संयोजकत्वमा विष्णु पौडेल र विष्णु रिमाल सदस्य रहेको पार्टी कार्यालय निर्माण तथा ब्यवस्थापन समिति गठन गरेको थियो ।
नेता रिमालका अनुसार २ महिनाभित्र माटो परीक्षण र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने र त्यसपछि निर्माण कार्य शुरु हुनेछ । डीपीआर तयार बनेर निर्माणको काम सकिएको दुई वर्षभित्र भवन निर्माणको काम सम्पन्न गर्ने लक्ष राखिएको रिमालले बताए ।
एमालेको अब बन्ने कार्यालय भवन नेपालका राजनीतिक दलहरु मध्येकै आधुनिक बन्ने छ । भवनमै पर्याप्त पार्किङको व्यबस्था हुनेछ भने कार्यालय भवन वरपर रुख विरुवा रोपेर हरियाली बनाइने छ ।
भूकम्पले पार्टी कार्यालयमा क्षति पुर्याएकाले बल्खुबाट एमाले पार्टी कार्यालय धुम्बाराही सारिएको थियो ।
बिहीवारबाटै पार्टी कार्यालय समेत थापाथलीमा सारिँदैछ । प्रधानमन्त्री ओलीले आजै थापाथलीस्थित कार्यालय उद्घाटन गर्ने कार्यक्रम समेत छ ।
यस्तो बन्दैछ एमाले कार्यालय, हेर्नुहोस् स्केच –

