
नेकपा एमालेले कर्णाली प्रदेशमा माओवादी नेता महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकारलाई जोगाउन 'फ्लोर क्रश' गर्ने चार सांसदलाई पार्टी सदस्यता समेत नरहने गरी कारवाही गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले दलीय ह्वीप उल्लंघन गर्ने चार जनालाई सांसद पदबाट हटाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
कर्णाली सरकारमा सहभागी मन्त्री अमर थापा, नन्दसिंह बुढा, कुर्मराज शाही र पूर्व मन्त्री प्रकाश ज्वालाको सांसद पद रिक्त गराउने निर्णय भएको छ ।
वैशाख ३ गते कर्णाली प्रदेश सभामा भएको मत विभाजनमा चार सांसदले 'फ्लोर क्रश' गरेका थिए ।
स्पष्टीकरण सोधिएका केन्द्रका २७ सांसदको बारेमा भने अहिलेसम्म कुनै निर्णय भएको छैन ।
बैठकले १८ सदस्यीय स्थायी कमिटी पनि गठन गरेको छ ।