
गुल्मी स्थापित कोरोना परीक्षण प्रयोगशाला बन्द भएको छ ।
प्रयोगशाला सञ्चालनका लागि आवश्यक बजेट र जनशक्ति अभावका कारण बन्द भएको हो ।
गत असोज १ गतेदेखि सञ्चालनमा आएको प्रयोगशाला बजेटको अभावमा बन्द भएको छ । गत वर्ष कोरोनाले महामारीको रूप लिन थालेपछि जिल्लाका स्थानीय तहको सहयोगमा जिल्लामै स्वाब परीक्षण गर्ने उद्देश्यले स्थापना गरिएको प्रयोगशाला अहिले बन्द भएको छ ।
प्रयोगशालामा काम गर्दै आएका ४ जनाले कोभिड भत्ता र १० जनाले तलब–भत्ता समेत पाएका छैनन् । जिल्लाका सरोकार पक्षले स्वास्थ्यकर्मीलाई ३० लाख रुपैयाँ भुक्तानी गर्न अझै बाँकी छ ।
शुरूमा तम्घास अस्पतालमार्फत काममा खटिए पनि नियुक्तिपत्र नहुँदा समस्या भएको ल्याब इन्चार्ज केपी भण्डारीले गुनासो गरे । अहिले पनि प्रयोगशाला सञ्चालनमा ल्याउन र कर्मचारीलाई तलब दिने विषयमा कसैले चासो नदिएको उनले बताए ।
परीक्षण प्रयोगशाला बन्द भएपछि अब स्वाब परीक्षणका लागि पुनः रुपन्देही पठाउनुपर्ने भएको छ । यस सम्बन्धमा रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसालले प्रयोगशाला तत्काल सञ्चालनमा ल्याउन नसक्ने प्रतिक्रिया दिए ।
प्रयोगशाला धेरै खर्चिलो हुने र पहिलेकै कर्मचारीलाई तलब दिन नसकिएकाले तत्काल सञ्चालनमा नआउने उनको भनाइ छ ।
जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले प्रयोगशाला सञ्चालनका लागि प्रदेश सरकारसँग बजेट माग गर्ने र दीर्घकालीन रुपमा सञ्चालन गर्नका लागि केन्द्रीय सीसीएमसीलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
जिल्लामा कोरोना संकमणको दर बढ्दै जाँदा अहिले जिल्लामा ७६ सक्रिय संक्रमित छन् भने ४ जनाको मृत्यु भएको छ ।