०८ असार २०८३, सोमबार

कोरोना समुदायस्तरमै पुगेपछि १ हप्ता बन्दाबन्दी

बैशाख १५, २०७८
कोरोना समुदायस्तरमै पुगेपछि १ हप्ता बन्दाबन्दी

कोरोना संक्रमण समुदायस्तरमै पुगेपछि कञ्चनपुरमा १ हप्ताका लागि लकडाउन (बन्दाबन्दी) गर्ने निर्णय गरिएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण उच्चस्तरमा बढ्दै जान थालेपछि जिल्ला कोरोना भाइरस संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १६ देखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।
 
प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संयोजकत्वमा मंगलवार साँझ बसेको बैठकले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङपुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, व्यूटीपार्लर, जिमखाना, खेलकुद, पुस्तकालय, संग्रहाय आदि सञ्चालन गर्नमा रोक लगाएको छ ।

औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसाय बाहेकका अन्य पसल व्यवसाय बन्द गरिने छन् । तरकारी, फलफूल, तथा खाद्य सामग्रीका पसल व्यवसाय जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्णरूपमा पालना गर्ने गरी बिहान ६ देखि ९ बजेसम्म सञ्चालनका लागि अनुमति दिने निर्णय गरिएको छ ।

अत्यावश्यकबाहेक अन्य सार्वजनिक सेवा स्थगन गरिएको छ । अत्यावश्यकीय वस्तु तथा सेवा (एम्बुलेन्स, शववाहन, दमकल, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, इन्धन, खाना पकाउने ग्यास, दूध तथा दुग्धजन्य पदार्थ, औषधि तथा स्वास्थ्यसँग सम्बन्धित सामान तथा सेवा, अस्पताल जाने आउने बिरामीका लागि प्रयोग गर्ने सवारीसाधन, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार, इन्टर, क्वारेन्टीन, आइसोलेसन, फोहरमैला व्यवस्थापन लगायतका ढुवानी तथा यातायात साधन सञ्चालन गर्न दिइने बैठकको निर्णय रहेको छ । यसबाहेकका अन्य सार्वजनिक एवं निजी सवारी साधन सञ्चालन गर्नमा भने नपाइने निर्णय गरिएको छ । 

सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्था एवं अत्यावश्यक काम तथा विकास निर्माण कार्यमा प्रयोग हुने ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिशका आधारमा प्रमुख जिल्ला अधिकारीबाट जारी भएको सवारी पास लिई सवारी साधनको प्रयोग गर्न पाइने छ । 

नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचय पत्रको आधारमा आवतजावत गर्न दिइने । सञ्चारकर्मीको हकमा नेपाल पत्रकार महासंघको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट जारी भएको पासका आधारमा आवतजावत गर्न सकिने छ ।

विवाह, व्रतबन्धको हकमा बढीमा १५ जनासम्म जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीको पूर्व अनुमति लिएर मात्र गर्न पाइने छ । 

भारतबाट कञ्चनपुरको नाका हुँदै नेपाल प्रवेश गर्ने कञ्चनपुर जिल्लाको नागरिकका हकमा सम्बन्धित स्थानीय तहको समन्वयमा क्वारेन्टीन, आइसोलेसनमा बस्नुपर्ने छ । जिल्ला बाहिरका नागरिकको हकमा नाकामा रहेको हेल्थ डेस्कमा स्वास्थ्य परीक्षणपश्चात होल्डिङ सेन्टरबाट सम्बन्धित स्थायनीय तहको समन्वयमा गन्तव्यतर्फ पठाउने व्यवस्था गरिएको छ ।

आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्नेउपर प्रचलित कानूनबमोजिम कारवाही हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्