०८ असार २०८३, सोमबार

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरू

बैशाख १५, २०७८
टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरू
फाइल फोटो

कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरू भएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजनाको काम शुरू भएको हो । 

वर्षातको समयमा आकाशको पानीबाट हुने डुबानलाई रोक्ने उद्देश्यले काम शुरू गरिएको टीकापुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष भैरवसिंह रावलले बताए ।

‘ढल निकासका लागि हामीले वषौंदेखि प्रक्रिया अगाडि बढाएका थियौं । जुन आज आएर सफल भएको छ,’ संस्थाका अध्यक्ष रावलले भने, ‘टीकापुरमा बर्सेनि वर्षात्को समयमा हुने ठूलो क्षति कम हुने छ । टीकापुरवासीको लामो समयको सपना पनि पूरा हुने भएको छ ।’ 

खानेपानी संस्थाले सुपरीवेक्षणको काम गर्दै आएको छ । संस्थाले आयोजनाको प्रक्रिया अगाडि बढाएको थियो भने टीकापुर नगरपालिकाले समन्वय गर्दै आएको थियो । २९.५ किलोमिटर लम्बाइको ढल निकासको पानी जमरा कुलोमा व्यवस्थापन गरिने छ ।

सडकमा आएको पानी सडकमा जम्मा नभई नालीमार्फत व्यवस्थापन हुनेछ । जसले डुबानका कारण बर्सेनि खेप्दै आएको सास्ती कम हुने अनुमान गरिएको छ । पहिलो चरणमा नगरपालिकाको वडा नम्बर १ बजार क्षेत्रमा र शक्तिनगर शिविरमा काम हुनेछ ।

बाढीका कारण सबैभन्दा प्रभावित हुने पनि बजार क्षेत्र र शिविर क्षेत्र भएकाले पहिलो चरणमा त्यहीअनुसार काम अगाडि बढाइएको खानेपानी संस्थाका अध्यक्ष रावलले बताए ।

६० करोड ६९ लाख ३ हजार रुपैयाँ लगानीमा निर्माण हुन लागेको आयोजनाको ठेक्का टुडी कन्स्ट्रकसनले पाएको छ । कूल लागतको ८५ प्रतिशत रकम एडीबीले सहयोग गरेको छ भने बाँकी १५ प्रतिशत नगरपालिकाले लगानी गरेको छ ।

आयोजनाले २ क्षेत्रमा काम गर्दै आएको शहरी खानेपानी तथा सरसफाइ आयोजना क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय पश्चिम क्षेत्र आयोजना कार्यान्वयन समूहका परामर्शदाता अरुण रोस्याराले जानकारी दिए । ‘ढल निकास र मानव मलमूत्र व्यववस्थापन गरी २ क्षेत्रमा काम भइरहेको छ,’ परामर्शदाता रोस्याराले भने, ‘२ कार्यक्रममध्ये मानव मलमूत्र व्यवस्थापन कार्यक्रम १ वर्षमा र ढलको नाली निर्माणको काम २ वर्षमा सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको छ ।’

सन् २०२० डिसेम्बरमा ठेकेदार कम्पनीसँग आयोजनाको सम्झौता भएको बताउँदै समयमै काम सम्पन्न हुने गरी नै काम अगाडि बढाइएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्