राजविराज, १२ पुस - मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले संविधान संशोधन प्रक्रिया अवरुद्ध गरेर एमालेले देशमा ठूलो सङ्कट ल्याउन खोजेको आरोप लागाएका छन् ।
सो पार्टीका सप्तरी शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने – संविधान संशोधनका विषयमा संसद अवरुद्ध गरिरहनु एमालेको गैरराजनीतिक चरित्र हो ।’
अध्यक्ष यादवले “यथास्थितिमा हामी संविधान स्वीकार गर्न नसक्ने र एमालेले परिवर्तन स्वीकार गर्न नसक्ने भएपछि मुलुक थप जटिलतातर्फ उन्मुख हुँदै गएको छ,” भन्दै एमालेको हठका कारण लामो समयसम्म संविधान संशोधन अवरुद्ध भए यसले मुलुकलाई आरजकतातर्फ डो-याउने बताए ।
नेकपा (एमाले) जनभावनाविपरीत यथास्थिति र पश्चगमनको बाटोमा लागेको आरोप लगाउदै उनले पछिल्लो गतिविधिले एमालेले घोर दक्षिणपन्थीहरुको नेतृत्व गरिरहेको स्पष्ट हुन्छ भने ।
अध्यक्ष यादवले आदिवासी जनजाति, मधेसी, दलितलगायतका सिमान्तकृत समुदायको माग अब पनि सम्वोद्धन नभए मधेसी मोर्चा आन्दोलनमा जाने र आन्दोलनबाट नै अधिकार सुनिश्चितताको बाटो खोजिने स्पष्ट परे । रासस