
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता माइला लामा रिहा भएका छन् । संखुवासभा कारागारमा रहेका उनी बिहीबार रिहा भएका हुन् ।
नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले लामो समयको हिरासत र जेल जीवनवाट लामा रिहा भएकोमा खुसी व्यक्त गर्दै उनलाई बधाई दिएका छन् ।
‘ राजनीतिक आस्थाको आधारमा लामो समयको हिरासत र जेल जीवनबाट रिहाइ हुनुभएका नेकपाका नेता माइला लामालाई हार्दिक स्वागत तथा बधाई’, विश्वकर्माले भनेका छन् ।
लामा २५ हजार धरौटी बुझाएर हिरासत मुक्त भएको बताइएको छ । सरकार र विप्लव समूहबीच फागुन २१ गते भएको सहमतिअनुसार विप्लव समूहका नेता कार्यकर्ता रिहा गर्ने भनिएपनि ढिलाइ हुँदै आएको थियो ।
०७६ साउन पहिलो साता लामालाई प्रहरीले काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको थियो ।
माइला लामामाथि काठमाडौंका नख्खु, अनामनगर, सुकेधारा लगायतका बिभिन्न स्थानमा भएका बम विस्फोटमा संलग्न रहेको आरोप लगाइएको थियो भने त्यसपछि पनि विभिन्न अभियोगमा थुनामा राखिँदै आएको थियो ।
लामा विप्लव समूहको एक प्रभावशाली नेता हुन् भने २०६४ सालको पहिलो संविधानसभा काठमाडौंबाट चुनाव लडे पनि पराजित भएका थिए ।