
भारतमा कोरोनाभाइरसको दोस्रो लहर फैलिएसँगै त्यहाँ कार्यरत नेपालीलाई सहयोग गर्नका लागि कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले पहल थालेको छ । विशेषगरी पश्चिम बंगाल राज्यमा बसोबास गर्ने प्रवासी नेपालीलाई प्रतिकूल अवस्थामा कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे शनिबार प्रवासी नेपाली संघ संस्थाका प्रतिनिधिहरुसँग आकस्मिक छलफल गरिएको महावाणिज्यदूत ईश्वर राज पौडेलले जानकारी दिए ।
स्वास्थ्य मापदण्ड पालना गर्दै बसेको बैठकले नेपालीहरुको आपतकालीन अवस्थामा उद्दार, सहयोग कार्यका लागि २४ सै घण्टा प्रतिकार्य रेस्पोन्स एण्ड एक्सन टीम बनाउने निर्णय भएको छ भने दूतावासको हटलाइन टेलिफोन २४ सै घण्टा खुला समेत राखिनेछ ।
दूतावासले कोलकातास्थित ठूला अस्पतालहरुमा नेपालीको उपचारका लागि सम्पर्क, समन्वय र पत्राचार/सिफारिस गर्नुका साथै भारतीय नागरिक सरह उपचारका लागि आवश्यक पहल गर्ने निर्णय पनि गरेको छ ।
नेपालीहरुको सोसल मिडिया ग्रुप बनाएर सूचना आदानप्रदान गर्ने, आपतकालीन उद्दार एवम् सहकार्य गर्न कोष बनाउने, दूतावासले समेत उक्त कोषमा सहयोग गर्ने, प्रवासी नेपालीको संलग्नतामा सञ्चालन भइरहेको एम्बुलेन्सबाट नेपालीहरुलाई प्राथमिकता दिएर सेवा दिने जस्ता निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा प्रवासी नेपालीको तर्फबाट रामायन धमला, गुन्ज दास श्रेष्ठ, नरविक्रम थापा, खेमराज बराललगायत सहभागी थिए भने उनीहरुले प्रतिकूल अवस्थामा दूतावासले राखेको बैठकले नेपालीहरुमा ठूलो आत्मविश्वास र भरोसा जगाएको धारणा राखे ।
यस्तै महावाणिज्यदूत पौडेलले मेइ दिवसको अवसरमा शुभकामना दिँदै महामारीको यस अवस्थामा महावाणिज्य दूतावास नेपालीहरुको साथमा रहेको बताए । उनले सबै जुटेर नेपालीको हित, कल्याण र जीवनरक्षामा खट्नुपर्नेमा पनि जोड दिए ।
