पश्चिम बंगालमा मतगणना चलिरहेकोमा तृणमूल कांग्रेसले सरकार बनाउने पक्का भइसकेको छ । भारतीय जनता पार्टी विपक्षमा बस्नेछ ।
तर कांग्रेस, वामपन्थी र असदुद्दीन ओवैसीको एआईएमआइएमको बिजोक भएको छ ।
ओवैसीका पार्टीले बिहारमा पाँच सीट जितेपछि अतिउत्साहित भएर बंगालको चुनावमा भाग्य परीक्षण गरेको थियो । अन्य राज्यमा जस्तै मुसलमानहरूको भोट आफूतिर सोहोर्ने सोच उसले बनाएको थियो ।
तर प्रचारका क्रममा गरेको वाचा र तमाम रणनीति केही काम लागेन ।
ओवैसीका पार्टीका सबै नेताहरूको बिजोक छ ।
मतपरिणाम हेर्दा मुुसलमानहरूको भोट तृणमूललाई गएको देखिन्छ ।
सागरदिगी सीटमा तृणमूलका सुव्रोतो शाहको अग्रता रहँदा ओवैसीका पार्टीका नेता नूर महबूब निकै पछि छन् । भरतपुर सीटमा पनि तृणमूलका हुमायूँ कबीर अघि छन् । ओवैसीका पार्टीका सज्जाद हुसैनको नामोनिशान देखिँदैन ।
लगभग सबै सीटमा तृणमूल र भाजपाकै टक्कर छ । अन्य दलहरूको कुनै प्रभाव देखिएको छैन ।