लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि पोखरेल विरुद्धको बहुमत गठबन्धन यतिबेला शपथग्रहण रोक्न प्रदेश प्रमुखको कार्यालयमा धर्नामा बसेको छ ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने ४२ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय पुगेका सांसदहरू शपथ ग्रहण रोक्न माग गर्दै कार्यालय परिसरको बाहिर धर्ना बसेका हुन् ।
दाङबाट उप–निर्वाचनमा नेकपाका तर्फबाट निर्वाचित सांसद विमला वली माओवादी केन्द्रमा खुलेकी र सूर्य चिह्न लिएर स्वतन्त्र हैसियतमा निर्वाचन लडेका कपिलवस्तुका धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले मुख्यमन्त्री पोखरेलको साथ छाडेका छन् ।
त्यस्तै कपिलवस्तुका एमाले सांसद दृगनारायण पाण्डेले सांसद पदबाट राजीनामा दिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले शंकर पोखरेललाई आजै शपथ ग्रहण गराउने बताइएको थियो ।
प्रदेश सभामा विपक्षी गठबन्धनमा ४२ जना सांसद पुगेको दाबी उनीहरूले गरेका छन् ।
प्रदेश सभामा बहुमतका लागि ४१ जना सांसद भए पुग्छ ।