०२ असार २०८३, मंगलबार

सरकारी अस्पतालले भन्यो – कोरोनाका थप बिरामी भर्ना लिएर उपचार गर्न सक्दैनौं

बैशाख २३, २०७८
सरकारी अस्पतालले भन्यो – कोरोनाका थप बिरामी भर्ना लिएर उपचार गर्न सक्दैनौं
फाइल फोटो

सरकारीस्तरबाट सञ्चालित कोरोना विशेष अस्पताल बेलझुन्डीले अक्सिजन व्यवस्था नभए थप बिरामी भर्ना लिन नसक्ने जनाएको छ ।

१०० शय्याको अस्पताल भए पनि अक्सिजन अभावमा ५७ जना मात्रै बिरामी राखिएको र अब अक्सिजन उपलब्ध नभएसम्म अरु बिरामी राख्न नसकिने अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए ।

बुधवार अस्पतालमा एकैदिन ४ जनाको ज्यान गएपछि अस्पताललाई बिरामीको व्यवस्थापन गर्न कठिन भएको हो ।

‘बिरामी राखिदिन निरन्तर दबाब आइरहेको छ तर हामीसँग अक्सिजन छैन । भएका बिरामीलाई पुर्‍याउन सकिएको छैन,’ उनले भने, ‘अक्सिजन अभावमा बिरामी राख्नु भनेको जानाजान बिरामीको ज्यान जोखिममा पार्नु हो ।’

अहिले अस्पतालमा कम्तीमा पनि ५०० सिलिन्डर अक्सिजन चाहिए पनि १२० सिलिन्डर मात्रै भएको भएका उनले जानकारी दिए । अक्सिजन अभावकै कारण बिरामीको ज्यान जाने अवस्था भएकाले थप बिरामी राख्न नसकिने उनले बताए ।

अक्सिजनको तत्काल व्यवस्था गरिदिन उनले मन्त्री, सांसद्, स्थानीय सरकार, नेता, समाजसेवी लगायतलाई सार्वजनिक रूपमै आह्वान गरेका छन् । ‘कृपया हाम्रो यो समस्या सबैले सुनिदिनुहोस् । हामी भन्दाभन्दा थाकिसक्यौं । अब हात उठाउने बेला आइसकेको छ,’ उनले भने, ‘जिल्लाका मन्त्री, सांसद् र धेरै ठूला नेताहरु हुनुहुन्छ । सबैले यो समस्याको छिटो सम्बोधन गरिदिनुपर्‍यो नत्र बिरामी बचाउन गाह्रो छ ।’

जिल्लामा १ हजार सिलिन्डर आवश्यक परेको र अहिले ६०० मात्रै उपलब्ध भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । अन्य सिलिन्डर खोज्न रातदिन लागे पनि पाउन कठिन भइरहेको उनले बताए ।

‘हामी अक्सिजनको खोजीमा छौं । रातदिन यसैमा लागेका छौं तर पनि पाउन गाह्रो भएको छ,’ उनले भने, ‘अक्सिजन पाउन नसक्दा बिरामीको ज्यान जोखिममा परिरहेको छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्