भारतको राष्ट्रिय लोक दल (आरएलडी) का राष्ट्रिय अध्यक्ष तथा पूर्वमन्त्री चौधरी अजित सिंहको कोरोनाका कारण निधन भएको छ ।
उनी संक्रमित भएपछि मंगलवार रातिदेखि नै स्वास्थ्य गम्भीर थियो । गुरुग्रामको एक निजी अस्पतालमा उनी भर्ना भएका थिए । फोक्सोमा संक्रमण बढेपछि उनको हालत कमजोर बनेको थियो ।
अप्रिल २० मा कोरोना संक्रमित भएदेखि संघर्ष गरिरहेको अजित सिंहको निधन बिहीवार बिहान भएको हो ।
पूर्व प्रधानमन्त्री र किसान नेता चौधरी चरण सिंहका छोरा अजित सिंह बागपतबाट सातपटक सांसद बनेका थिए । सन् २००१ देखि २००३ सम्म अटलविहारी वाजपेयी सरकारमा उनी कृषिमन्त्री र सन् २०११ मा यूपीए सरकारमा उनी नागरिक उड्डयन मन्त्री थिए ।
सन् २०१९ को लोकसभा चुनावमा उनी मुजफ्फरनगरबाट चुनावमा उठेका थिए तर हारे ।
पश्चिमी उत्तर प्रदेशमा चौधरी अजित सिंह जाटहरूका ठूला नेता मानिन्थे ।